ढल्केबरमा फार्मेसीबाटै लागूऔषध कारोबार, सञ्चालकसहित ४ जना पक्राउ

धनुषा । धनुषाको ढल्केबरमा सञ्चालन हुँदै आएको एक औषधि पसलबाट ठूलो परिमाणमा लागूऔषध फेला परेपछि प्रहरीले पसल सञ्चालकसहित चार जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार मिथिला नगरपालिका–७ का ५० वर्षीय रामकुमार महतो, जो ‘निको फार्मेसी’ सञ्चालन गर्दै आएका थिए, उनलाई लागूऔषधसहित नियन्त्रणमा लिइएको हो। प्रहरीले उक्त फार्मेसीमा छापा मार्दा टापेन्टा ट्याब्लेट ४६० पत्ता, स्पासरेस्ट ९५ पत्ता, डोवेल ६० पत्ता र नगद १ लाख ३५ हजार रुपैयाँ बरामद गरेको जनाएको छ।
यसअघि मिथिला नगरपालिका–१० रातोपुल क्षेत्रबाट बर्दिवासतर्फ पैदल जाँदै गरेका तीन जना युवामाथि शंका लागेपछि चेकजाँच गर्दा उनीहरूको साथबाट टापेन्टा लागूऔषध फेला परेको थियो। पक्राउ पर्नेमा सिन्धुलीका साजन परियार, दोर्जे लामा र दीपेश साह रहेका छन्।
ती युवासँगको सोधपुछपछि लागूऔषध कारोबारमा उक्त फार्मेसीको संलग्नता खुलेको प्रहरीले जनाएको छ। त्यसपछि गरिएको थप अनुसन्धान र छापामार कारबाहीबाट सञ्चालक महतो पक्राउ परेका हुन्।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय