धनुषा । धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । घटनापछि होटल सञ्चालकसहित त्यहाँ कार्यरत कामदार फरार भएका छन् ।
प्रहरीका अनुसार ‘जुन तारा स्टाप लाइन होटल’मा मंगलबार बिहान करिब ११ः३० बजे पोखरा महानगरपालिका–१३, मियापाटीकी २३ वर्षीया जेनिसा विक मृत अवस्थामा भेटिएकी हुन् ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार मृतकको मुखबाट फिज निस्किएको अवस्थामा शव फेला परेको थियो । प्रारम्भिक अवलोकनमा शरीरका अन्य भागमा कुनै चोटपटक नदेखिएको प्रहरीले जनाएको छ ।
घटनापछि होटल सञ्चालक रामपुकार साह तथा अन्य कामदार फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाउने तयारी गरेको छ । घटनाको वास्तविक कारण खुल्न बाँकी रहेकाले थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।



