सर्लाही। सर्लाहीको बसवरिया गाउँपालिका–२ स्थित मानपुर ब्यारेज नजिक २०८१ चैत १ गते भएको चक्कु प्रहार घटनामा गम्भीर घाइते भएका मुकेश कुमार शर्मा अझै न्यायको पर्खाइमा छन्।
उक्त घटनामा स्थानीय नेताहरूको संलग्नता रहेको आरोपमा मुद्दा दर्ता भइसकेको छ भने पक्राउ पुर्जीसमेत जारी भइसकेको छ। तर, अहिलेसम्म पनि आरोपीहरू पक्राउ नपरेपछि पीडित परिवार अन्योल र चिन्तामा परेका छन्।
फागु पर्वको दिन साँझ करिब ८ बजेतिर सामान्य विवादबाट सुरु भएको झगडा एकाएक हिंसात्मक बनेको थियो। परिवारका अनुसार मुकेशकी आमा शिव दुलारी देवीमाथि केही व्यक्तिहरूले अभद्र व्यवहार गरेपछि त्यसको विरोध गर्दा मुकेशमाथि सामूहिक आक्रमण भएको हो। सुरुमा कुटपिट गरिएको र त्यसपछि प्रभावशाली व्यक्तिहरूको उक्साहटमा चक्कु प्रहार गरिएको जाहेरीमा उल्लेख छ।
जाहेरी अनुसार तत्कालीन कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह, गजेन्द्र साह र निकेश त्रिपाठीसहितका व्यक्तिहरू घटनास्थलमा पुगेपछि आक्रमण थप चर्किएको आरोप छ। उनीहरूको उक्साहटपछि मुकेशमाथि चक्कु प्रहार गरिएको दाबी गरिएको छ।
चक्कु प्रहारबाट मुकेशको पेटमा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि वीरगञ्ज लगिएको थियो। नारायणी अस्पतालमा उपचार सम्भव नभएपछि नेसनल मेडिकल कलेजमा चैत २ गते शल्यक्रिया गरिएको थियो। लामो उपचारपछि ज्यान जोगिए पनि उनी अझै पूर्ण रूपमा स्वस्थ हुन सकेका छैनन्।
घटनापछि सुरु भएको कानुनी प्रक्रिया भने विवादित बनेको छ। पीडित पक्षका अनुसार इलाका प्रहरी कार्यालय बरहथवाले सुरुमा जाहेरी लिन अस्वीकार गरेको थियो। हुलाकमार्फत पठाइएको निवेदनसमेत नलिइएको आरोप छ। त्यसपछि पीडितका भाइ मुनेक ठाकुर अदालत पुगेका थिए।
उच्च अदालतको आदेशपछि सुरेन्द्र प्रसाद सिंह, गजेन्द्र साह, निकेश त्रिपाठीसहित १० जनालाई प्रतिवादी बनाएर पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिइएको थियो। त्यसकै आधारमा इलाका प्रहरी कार्यालय बरहथवाले २०८२ असोज १४ गते मुद्दा दर्ता गर्दै पक्राउ पुर्जी जारी गरेको थियो।
तर, पक्राउ पुर्जी जारी भए पनि आरोपितहरू अझै पक्राउ नपरेको भन्दै पीडित पक्षले प्रहरीमाथि नै गम्भीर प्रश्न उठाएको छ। उनीहरूका अनुसार केही आरोपीहरू खुलेआम हिँडडुल गरिरहेका छन् र मिलापत्रका लागि दबाब दिने प्रयास भइरहेको छ। यसअघि पनि हातहतियार देखाएर धम्की दिने गरिएको पीडितको दाबी छ।
यता नेपाली कांग्रेस सर्लाहीले भने आफ्ना नेता तथा कार्यकर्तामाथि लगाइएको आरोप अस्वीकार गरेको छ। पार्टीले घटनालाई राजनीतिक पूर्वाग्रहका आधारमा प्रस्तुत गरिएको भन्दै सामान्य विवादलाई अतिरञ्जित गरिएको जनाएको छ।
हाल मुकेश र उनका परिवार नयाँ सरकार बनेसँगै न्याय पाउने आशामा छन् भने अधिकांश आरोपी अझै फरार छन्। आरोपीमध्ये निवर्तमान सभापति सुरेन्द्र सिंह केही दिनअघि कांग्रेस सभापति गगन थापालाई भेट्न काठमाडौँ पुगेका थिए।



