सर्लाही । सत्ताको संरक्षणमा वर्षौंदेखि अवैध रूपमा सञ्चालन हुँदै आएको सर्लाहीको बसबरिया गाउँपालिका–३, कोठियारस्थित ‘अभिनित वासिङ्ग उद्योग’ तथा ‘अभिनित ढुंगा क्रसर उद्योग’ अन्ततः बन्द गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रशासनको निर्देशनमा सोमबार दिउँसो प्रहरी टोली खटाएर उक्त क्रसर उद्योग बन्द गराइएको हो । प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले उद्योग अवैध रूपमा सञ्चालनमा रहेकाले कारबाहीस्वरूप बन्द गरिएको जानकारी दिए ।
देशभर अवैध रूपमा सञ्चालित क्रसर उद्योगविरुद्ध गृह मन्त्रालयले कडाइ थालेसँगै सर्लाहीमा पनि कारबाही अघि बढाइएको हो । मन्त्रालयले कानुन विपरीत दर्ता नगरी, नवीकरण नगरी वा अनुमति बिना सञ्चालनमा रहेका ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा प्रशोधन गर्ने उद्योगहरू तत्काल बन्द गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो ।
स्थानीय स्रोतका अनुसार उक्त उद्योग नेपाली कांग्रेस निकट मधेश प्रदेश सभा सदस्यका दाजु सुरेन्द्र प्रसाद सिंहको स्वामित्वमा रहेको छ । यसअघि पनि प्रशासनले पटक–पटक बन्द गराए पनि राजनीतिक संरक्षणका कारण उद्योग पुनः सञ्चालन हुँदै आएको आरोप छ ।
गत वर्ष प्रशासनको कारबाहीपछि उद्योग सञ्चालकले राति क्रसर चलाउने र दिउँसो बन्द राख्ने रणनीति अपनाएका थिए । यसपटक भने पुनः सञ्चालन हुन नदिन उद्योगको विद्युत् लाइनसमेत काटिएको जनाइएको छ ।
बस्ती नजिकै सञ्चालनमा रहेको उक्त क्रसर उद्योगका कारण स्थानीयवासी लामो समयदेखि प्रत्यक्ष प्रभावित हुँदै आएका थिए । धुलो र प्रदूषणका कारण नजिकै रहेको विद्यालयसमेत प्रभावमा परेर बन्दजस्तै अवस्थामा पुगेको स्थानीयको गुनासो छ ।
बस्तीबीचै सञ्चालन गरिएको यस्ता उद्योगले जनजीवन कष्टकर बनाउनुका साथै जनस्वास्थ्यमा गम्भीर असर पार्दै आएको भन्दै स्थानीयले कडा कारबाहीको माग गर्दै आएका थिए।



