ईषा लुईटेल, सिन्धुली । ईलाका प्रहरी कार्यालय भिमान, सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार राजु गुरुङमाथि लामो समयदेखि घुमुवा संकलन जिम्मेवारीमा बसेर अवैध कारोबारीसँग साठगाठ गरेको गम्भीर आरोप लागेको छ। स्रोतका अनुसार गुरुङ विगत करिब चार वर्षदेखि निरन्तर घुमुवाको रूपमा कार्यरत रहँदै आएका छन्, जुन अवधि असामान्य रूपमा लामो भएको भन्दै प्रहरीभित्रै प्रश्न उठ्न थालेको छ।
नाम नखोल्ने सर्तमा कुरा गरेका केही स्थानीय तथा व्यापारीहरूले सिन्धुली जिल्ला मधेश प्रदेश र काठमाडौं जोड्ने मुख्य मार्ग भएकाले यहाँबाट हुने अवैध ओसारपसार नियन्त्रण गर्नुपर्नेमा उल्टै सेटिङ मिलाइदिने काम भएको आरोप लगाएका छन्। उनीहरूका अनुसार गुरुङले विभिन्न अवैध कारोबारीहरूसँग फोन सम्पर्क राख्दै “लाइन मिलाइदिन्छु, समस्या हुँदैन” भन्दै रकम असुल्ने गरेको समेत दाबी गरिएको छ।
स्रोतका अनुसार मधेश प्रदेशबाट काठमाडौंतर्फ जाने सवारी साधन, मालवाहक गाडी तथा विभिन्न अवैध सामान ओसारपसार गर्ने समूहसँग नियमित सम्पर्क राखिएको र प्रहरी जाँचबाट जोगाउन सहयोग गर्ने आश्वासन दिने गरिएको आरोप छ। केही व्यापारीले रकम नदिँदा अनावश्यक दुःख दिने, नियन्त्रणमा लिने वा मुद्दा लगाउने धम्की समेत दिने गरेको गुनासो गरेका छन्।
यसैबीच मधेश प्रदेशसँग जोडिएका काठमाडौँ, दोलखा, रामेछाप, ओखलढुंगा लगायत जिल्लातर्फ सञ्चालन हुने सवारी चालकहरूले पनि पछिल्लो समय विभिन्न बहाना बनाएर दुःख दिने र रकम असुल्ने गरिएको गुनासो गर्न थालेका छन्। उनीहरूका अनुसार चेकजाँचको नाममा सवारी रोक्ने, कागजातमा साना त्रुटि देखाएर दबाब दिने तथा रकम लिएपछि मात्र जान दिने जस्ता गतिविधि बढेको आरोप छ।
स्थानीयवासीले एउटै व्यक्तिलाई लामो समयसम्म संवेदनशील जिम्मेवारीमा राख्दा प्रहरी संगठनको विश्वसनीयतामाथि नै प्रश्न उठेको बताएका छन्। उनीहरूले यस विषयमा जिल्ला प्रहरी कार्यालय तथा प्रदेश प्रहरी कार्यालयले छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन माग गरेका छन्।
यस विषयमा इलाका प्रहरी कार्यालय भिमानका अधिकारीसँग प्रतिक्रिया लिन खोज्दा औपचारिक प्रतिक्रिया प्राप्त हुन सकेन। यद्यपि प्रहरी स्रोतले आरोपबारे जानकारी आएको र आवश्यक परे छानबिन हुन सक्ने जनाएको छ।
स्थानीय सरोकारवालाहरूले निष्पक्ष छानबिन गरी दोषी देखिए कडा कारबाही गर्नुपर्ने माग गरेका छन्। प्रहरी संगठनभित्र लामो समय एउटै ठाउँमा बसेर काम गर्ने प्रवृत्तिले अनियमितता बढाउने भएकाले सरुवा प्रणाली कडाइका साथ लागू गर्नुपर्ने आवाज समेत उठ्न थालेको छ।



