सर्लाही । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपाली कांग्रेसको नेतृत्वमा बनेको प्रदेश सरकारले पहिलो १०० दिनमा ५१ वटा मुख्य काम अघि बढाएको बताएका छन् ।
मंगलबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले प्रदेश सरकारको पहलमा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, सिँचाइ, भौतिक पूर्वाधार, खेलकुद, वन, यातायात तथा अर्थ क्षेत्रसँग सम्बन्धित विभिन्न योजनाहरू सुरु गरिएको तथा केही कार्यान्वयनको चरणमा पुगेको जानकारी दिए ।
मुख्यमन्त्री यादवका अनुसार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा बिरामीले घरबाटै मोबाइल प्रयोग गरेर पुर्जा काट्न सक्ने व्यवस्था मिलाउने प्रक्रिया अघि बढाइएको छ । किसानका लागि मलमा घटाइएको अनुदान पुनः पूर्ववत् गर्न संघीय सरकारसमक्ष प्रस्ताव पठाइएको पनि उनले बताए ।
उनले जनकपुरधामस्थित जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक मापदण्ड तयार गरी स्थानीय तह र पुरातत्व विभागसँग समन्वय गरेर काम भइरहेको जानकारी दिए ।
त्यस्तै, जनकपुरधाममा राम–जानकी रंगशाला निर्माणका लागि बाँकी प्रक्रिया अगाडि बढाइएको, साथै ई–रिक्सा र ट्र्याक्टर चलाएर जीविकोपार्जन गर्नेहरूलाई प्रयोगात्मक परीक्षाबाट लाइसेन्स दिने व्यवस्था गर्न लागिएको मुख्यमन्त्री यादवको भनाइ छ ।
प्रदेश सरकारले ‘एक निर्वाचन क्षेत्र पाँच किलोमिटर सडक’ योजना अन्तर्गत पहिलो चरणको काम पूरा गरी दोस्रो चरण सुरु गर्ने तयारी गरेको उनले बताए ।
गर्मी याममा देखिने खानेपानी अभावको समस्या समाधानका लागि विज्ञहरूसँग छलफल सुरु गरिएको र दीर्घकालीन समाधान खोज्ने काम भइरहेको मुख्यमन्त्री यादवले बताए ।
मुख्यमन्त्री यादवले छोटो अवधिमै परिणाम देखिने कामलाई प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको दाबी गरे ।



