मधेशमा रास्वपाको संगठन खडा गर्ने नेता तपेश्वर यादव, अब मन्त्री बन्ने चर्चा

सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेश प्रदेश सभापति तपेश्वर यादवले सिराहा–४ बाट प्रतिनिधि सभा निर्वाचन जित्दै पाँच जना पूर्वमन्त्रीस्तरका शक्तिशाली उम्मेदवारलाई पराजित गरेपछि उनको राजनीतिक भूमिका फेरि चर्चामा आएको छ। प्रतिस्पर्धी उम्मेदवारहरूको जमानतसमेत जफत हुने गरी आएको मत परिणामलाई राजनीतिक वृत्तमा ऐतिहासिक जितका रूपमा विश्लेषण गरिएको छ।

यो जितलाई मधेश प्रदेशका मतदाताले नयाँ राजनीति, सुशासन र इमानदार नेतृत्वको पक्षमा दिएको स्पष्ट सन्देशका रूपमा हेरिएको छ। लामो समयदेखि परम्परागत दलहरूको प्रभाव रहेको क्षेत्रमा आएको यो परिणामलाई परिवर्तनको संकेतका रूपमा लिइएको राजनीतिक विश्लेषकहरू बताउँछन्।

पार्टी स्थापना भएको प्रारम्भिक समयदेखि नै तपेश्वर यादव मधेश प्रदेशमा संगठन निर्माणमा सक्रिय रहँदै आएका थिए। सीमित स्रोत–साधनका बाबजुद उनले प्रदेशभरि पार्टीको संरचना विस्तार गर्ने, युवालाई राजनीतिमा आकर्षित गर्ने तथा मधेशका जनताका मुद्दा राष्ट्रिय स्तरमा उठाउने काममा महत्वपूर्ण भूमिका खेलेका थिए।

सर्लाहीका जेनजी युवा सुनिल महतोका अनुसार, “मधेश प्रदेशमा रास्वपाको संगठन खडा गर्न तपेश्वर यादवले खेलेको भूमिका निकै सराहनीय छ। उहाँले निरन्तर मेहनत गरेर युवालाई राजनीतिमा जोड्ने काम गर्नुभएको छ।”

पेशाले संरचना इन्जिनियर रहेका यादव भौतिक पूर्वाधार विकाससम्बन्धी विषयमा गहिरो ज्ञान र अनुभव राख्ने नेताका रूपमा चिनिन्छन्। मधेश प्रदेशको विकासका लागि सडक, पुल, भवन, सिंचाइ तथा शहरी पूर्वाधारमा दीर्घकालीन योजना आवश्यक रहेको अवस्थामा प्राविधिक ज्ञान भएको नेतृत्व आवश्यक रहेको जेनजी युवा सुनिल महतोले बताए।

यस्तै, अर्का जेनजी युवा मनोज यादवले आगामी मन्त्रिपरिषद् गठनमा तपेश्वर यादवलाई भौतिक पूर्वाधार वा विकाससँग सम्बन्धित मन्त्रालयको जिम्मेवारी दिइनु उपयुक्त हुने धारणा व्यक्त गरे। उनका अनुसार, “मेहनत गरेर संगठन निर्माण गर्ने नेतालाई जिम्मेवारी दिँदा पार्टीभित्र योगदानको सम्मान हुन्छ र विकासको काम पनि प्रभावकारी हुन्छ।”

राजनीतिक वृत्तमा पनि तपेश्वर यादवलाई आगामी मन्त्रिपरिषद्मा समावेश गरी उनको अनुभव, प्राविधिक दक्षता र नेतृत्व क्षमताको उपयोग गर्नुपर्ने चर्चा सुरु भएको छ। विश्लेषकहरूका अनुसार, यसले मधेश प्रदेश मात्र होइन, समग्र देशमा विकास र सुशासनको अभियानलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय