धनुषा । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको छनौट शाखाले प्रहरी निरीक्षक मनोज कुमार यादवलाई २०८२ साल फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी निरीक्षक यादव दरबन्दी तालुक मधेश प्रदेश प्रहरी कार्यालयमा रही हाल जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत छन् । उनले फागुन १९ गते सम्पन्न मिथिला माध्यमिक परिक्रमा मेला तथा होली पर्वलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा योजना बनाई प्रभावकारी रूपमा प्रहरी परिचालन गरी महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
यसैगरी फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन उनले निर्वाचन सुरक्षा सम्बन्धी विभिन्न गतिविधि सञ्चालन गरेका थिए । निर्वाचन नजिकिँदै जाँदा जिल्लाको समग्र शान्ति सुरक्षालाई ध्यानमा राखी जिल्ला प्रहरी कार्यालय धनुषाको निर्वाचन सेलबाट विस्तृत सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याइएको थियो ।
निर्वाचन लक्षित सभा, जुलुस तथा प्रचार-प्रसार कार्यक्रमलाई व्यवस्थित बनाउन सुरक्षा योजना अनुसार प्रहरी परिचालन गर्नुका साथै आफैँ कमाण्डमा खटिई कार्यक्रमहरू शान्तिपूर्ण रूपमा सम्पन्न गराउन उनले सक्रिय भूमिका खेलेका थिए । साथै जिल्लाका सबै मतदानस्थल तथा मतदान केन्द्रहरूको सुरक्षा अवस्थाको अध्ययन गरी आवश्यक जनशक्ति परिचालन, मोबाइल गस्ती, चेकजाँच तथा निगरानीलाई तीव्र बनाइएको थियो ।
मतदानको दिन उनी मोबाइल कमाण्डरका रूपमा खटिई मतदानस्थलहरूमा चुस्त सुरक्षा व्यवस्था मिलाउनुका साथै मतपेटिका सङ्कलन, मतगणनास्थल सुरक्षा तथा मतगणना कार्यलाई विवादरहित रूपमा सम्पन्न गराउन समेत महत्वपूर्ण योगदान पुर्याएका थिए ।
नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी लगनशील, कर्तव्यनिष्ठ र उच्च व्यवसायिक दक्षताका साथ पूरा गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्यमा उल्लेखनीय योगदान पुर्याएको मूल्यांकन गर्दै प्रहरी निरीक्षक मनोज कुमार यादवलाई २०८२ साल फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।



