सर्लाही । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाहीका नेपाल–भारत सीमा नाका तीन दिनका लागि बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म सीमा नाका पूर्ण रूपमा बन्द रहनेछन्। यस अवधिमा अत्यावश्यक सेवा तथा सुरक्षा निकायको समन्वयबाहेक अन्य सबै आवतजावत र गतिविधिमा रोक लगाइने प्रशासनले जनाएको छ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला सुरक्षा समिति सर्लाहीको बैठकले उक्त निर्णय गरेको हो। सीमा क्षेत्रमा हुन सक्ने सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न र सुरक्षा व्यवस्था कडा पार्न यस्तो कदम चालिएको प्रशासनको भनाइ छ।
प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले सीमा क्षेत्रमा निगरानी तथा चेकजाँच थप सुदृढ गरिने जानकारी दिँदै निर्वाचन अवधिभर उच्च सतर्कता अपनाइने बताए।



