सर्लाही । विद्युत सेवा जस्तो अत्यावश्यक क्षेत्रमा नै सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो सार्वजनिक भएपछि लालबन्दी विद्युत वितरण केन्द्र विवादमा परेको छ । ज्यालादारीमा कार्यरत कर्मचारी सचिदानन्द महतोमाथि मिटर जाँच, ठाउँसरी र मर्मतका नाममा उपभोक्तासँग रकम असुल्ने गरेको आरोप लागेको हो ।
लालबन्दी नगरपालिका–स्थित हिरापुर घर भएका महतोले वितरण केन्द्र अन्तर्गत पर्ने उद्योग तथा घरायसी मिटरमा विभिन्न समस्या देखाएर ‘काम छिटो गरिदिने’ भन्दै रकम माग्ने गरेको उपभोक्ताहरूको भनाइ छ । हरिवनका एक सेवाग्राहीका अनुसार पुरानो मिटर ठाउँसरी गर्नुपर्ने अवस्थामा “रकम दिए छिटो हुन्छ, नत्र समय लाग्छ” भन्दै दबाब दिइएको थियो । बाध्य भएर रकम दिएको ती उपभोक्ताले बताए । समयमै काम नभएपछि पैसा फिर्ता माग्दा विवाद उत्पन्न भएको जनाइएको छ ।
यस्तै, हरिवनका अर्का एक उपभोक्ताले सामान्य प्राविधिक समस्या भएको मिटरमा समेत अनावश्यक त्रुटि देखाएर नयाँ मिटर जडान गर्नुपर्ने भन्दै रकम मागिएको आरोप लगाए। “नयाँ मिटर नलगाए लाइन काटिदिन्छु” भन्ने धम्कीपूर्ण शैलीमा कुरा गरिएको ती उपभोक्ताको दाबी छ । उनका अनुसार मिटरले सुरुदेखि जति युनिट देखाएको थियो, अहिले पनि त्यही अनुसार देखाइरहेको अवस्थामा समस्या देखाइनु शंकास्पद छ ।
नाम नखोल्ने सर्तमा अर्का एक उपभोक्ताले भने, “पैसा नदिँदा काम रोकिन्छ, पैसा दिएपछि मात्र अघि बढ्छ। सेवाग्राहीलाई अनावश्यक दुःख दिने प्रवृत्ति बढेको छ ।” एउटै प्रकृतिका गुनासा दोहोरिन थालेपछि स्थानीयस्तरमा असन्तोष बढ्दो छ ।
यता वितरण केन्द्रको आधिकारिक प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन । उपभोक्ताहरूले निष्पक्ष छानबिन गरी दोषी पाइए कडा कारबाही गर्न माग गरेका छन् । सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता कायम गर्न प्राधिकरणले चाँडो पहल चाल्नुपर्ने आवाज उठ्न थालेको छ ।



