मलंगवामा मन्दिरभित्र भेटिएको पेस्तोल पड्किँदा बालक घाइते

सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–४ ढाँका गाउँमा निर्माणाधीन मन्दिरभित्र फेला परेको पेस्तोल चलाउने क्रममा अचानक पड्किँदा एक बालक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आज दिउँसो करिब १ः३५ बजे स्थानीय रामविश्वास रायका करिब १५ वर्षीय छोरा आकाश राय घरबाट करिब १०० मिटर पूर्वतर्फ रहेको निर्माणाधीन हनुमान मन्दिरभित्र पुगेका थिए । त्यहाँ रातो कपडाले बेरिएको अवस्थामा रहेको वस्तु खोलेर हेर्दा पेस्तोल भेटिएको र नक्कली ठानेर चलाउने प्रयास गर्दा अचानक पड्किएको प्रहरीले जनाएको छ ।

पड्किँदा आकाशको दाहिने हातको पन्जामा गोली लागेर उनी घाइते भएका हुन् । घटनाको जानकारी पाउनासाथ प्रहरी नायव उपरीक्षक सरोज राईको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । घाइते बालकलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवामा उपचारका लागि भर्ना गरिएको छ ।

अस्पताल स्रोतका अनुसार उनको अवस्था मध्यम रहेको छ ।प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल र त्यसमा अड्किएको अवस्थामा पड्किएको खोका बरामद गरेको जनाएको छ । उक्त स्थान अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्पबाट करिब एक किलोमिटर पूर्व र जिल्ला प्रहरी कार्यालयबाट करिब तीन किलोमिटर उत्तरतर्फ पर्ने बताइएको छ ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय