सर्लाही । सर्लाहीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला अध्यक्ष रञ्धिर यादवको नाममा रहेको कार दुर्घटनामा परेको छ। रोकिराखेको ट्र्याक्टरमा तीव्र गतिका कारण कार ठोक्किँदा गाडी क्षतिग्रस्त भएको छ भने दुईजना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय ईश्वरपुरका अनुसार अध्यक्ष यादवका भाइ सुधिर यादवले चलाएको प्र.२–०२–००१ च ०४२३ नम्बरको कार ईश्वरपुर नगरपालिका अन्तर्गत सखुबनी क्षेत्रमा सडक छेउमा आफ्नै साइटमा रोकिराखेको ट्र्याक्टरमा ठोक्किएको हो। दुर्घटनाको समयमा कारमा अध्यक्ष यादव भने सवार थिएनन्।
दुर्घटनामा कार चालक सुधिर यादव र उनकी ५५ वर्षीया आमा इन्द्रकुमारी यादव घाइते भएका छन्। दुवैलाई उपचारका लागि जनकपुर पठाइएको प्रहरीले जनाएको छ।
प्रत्यक्षदर्शीका अनुसार कार तीव्र गतिमा रहेको र त्यसै कारण दुर्घटना भएको हो। दुर्घटनाबाट कारको अगाडिको भागमा ठूलो क्षति पुगेको छ।



