नेपाली सेनाको नाम बेचेर १ करोड ८२ लाख ठगी, संस्थाका अध्यक्ष पक्राउ

काठमाडौं । नेपाली सेनाका सबै कर्मचारीको जीवन बिमा गराइदिने बहानामा १ करोड ८२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५ कटुन्जे घर भएका ४३ वर्षीय राजकुमार श्रेष्ठलाई पक्राउ गरी ठगी तथा किर्ते मुद्दा दायर गरेको हो।
प्रहरीका अनुसार श्रेष्ठले नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ता जीवनप्रसाद बाँस्तोलालाई आफ्नो परिवारका सदस्य नेपाली सेनाको उच्च पदमा कार्यरत रहेको र देशभरका सेनाको बिमा आफूले गराइदिने भन्दै विश्वास दिलाएका थिए। सोही विश्वासमा पारेर विभिन्न खर्च देखाउँदै उनले पटक–पटक गरी १ करोड ८२ लाख ५० हजार रुपैयाँ लिएको खुलेको छ।
पछि श्रेष्ठ सम्पर्कविहीन बनेपछि बाँस्तोला आफैं सेनासँग बुझ्न पुगेका थिए। त्यही क्रममा श्रेष्ठले देखाएका रक्षा मन्त्रालय र नेपाली सेनासम्बन्धी पत्रहरू नक्कली भएको पुष्टि भएपछि घटना प्रहरीसम्म पुगेको हो।
प्रहरी अनुसन्धानमा श्रेष्ठले रक्षा मन्त्रालयका ६ वटा किर्ते पत्र तयार पारेको र ती पत्रमा नेपाली सेनाका जर्नेलहरू कृष्णबहादुर जिसी, गौरवकुमार केसी, प्रकाशराज थापा, सुनीलसिंह राठौरलगायतका नाम र हस्ताक्षर नक्कल गरिएको पाइएको छ।
अभियुक्त श्रेष्ठ ‘सनातम शक्ति नेपाल’ नामक संस्थाका अध्यक्षसमेत रहेको खुलेको छ। सोही संस्थाका सचिव शिवराज गजुरेलमार्फत उनको बाँस्तोलासँग चिनजान भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय