काठमाडौं । निर्वाचनको समयमा सुरक्षा व्यवस्थालाई मजबुत बनाउन प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्लामा अनुगमनका लागि उच्च अधिकारीहरू खटाउने तयारी गरेको छ । प्रहरीका अनुसार तराईका चार जिल्ला झापा, सर्लाही, चितवन र रूपन्देहीमा एसएसपी खटाइने भएको छ ।
झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)बीच तीव्र प्रतिस्पर्धा रहेकाले सो क्षेत्रलाई सुरक्षाका दृष्टिले अत्यन्त संवेदनशील मानिएको छ ।
सर्लाही क्षेत्र नम्बर ४ मा कांग्रेस सभापति गगन थापा र रास्वपाका अमेरश सिंहबीच प्रतिस्पर्धा चर्किएको छ । सर्लाहीकै क्षेत्र नम्बर २ बाट पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि चुनावी मैदानमा छन् ।
चितवनमा रास्वपाका सभापति रवि लामिछाने र रूपन्देहीमा एमाले उपाध्यक्ष विष्णु पौडेललगायत शीर्ष नेताहरू प्रतिस्पर्धामा रहेकाले ती जिल्लामा पनि उच्च सतर्कता अपनाइने प्रहरीको भनाइ छ । केही एसएसपीलाई दुई–तीन जिल्ला हेर्ने गरी जिम्मेवारी दिइने तयारी छ ।
त्यस्तै, पहाडी क्षेत्रका केही संवेदनशील जिल्लामा पनि एसएसपी र एसपीलाई निर्वाचन लक्षित रूपमा खटाइने भएको छ ।
प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार प्रहरी प्रधान कार्यालय तथा अन्य निकायमा कार्यरत कर्मचारीहरूलाई निर्वाचनका लागि जिल्लामा खटाउने तयारी भइरहेको छ । उपत्यकाबाट करिब १२ हजार प्रहरी बाहिरी जिल्लामा पठाइनेछन् ।
निर्वाचन अवधिमा ७५ हजार ४९७ नेपाल प्रहरी र प्रहरी मातहतका एक लाख ३८ हजार ९८० निर्वाचन सुरक्षाकर्मी परिचालन हुने जनाइएको छ ।



