सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राईटरखोट टोलस्थित सागरनाथ वन विकास परियोजना अन्तर्गत भक्तिपुर प्लट नं. १० को जंगलमा वन चौकीदारको हत्या भएको घटनामा संलग्न आरोपितलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
गस्तीमा निस्किएका ५२ वर्षीय रामेश्वर महतो कोईरी सोही दिन जंगलको झाडीमा रगताम्य अवस्थामा मृत फेला परेका थिए । घटनापछि अनुसन्धान थालेको प्रहरीले केही दिनको अनुसन्धानपछि आज आरोपित सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाही र ईलाका प्रहरी कार्यालय केशरगंज बाट खटिएको प्रहरी टोलीले घटनास्थल निरीक्षणका क्रममा रगत लागेको बन्चरो र एक जोर चप्पल बरामद गरेको थियो ।
प्रहरीका अनुसार ती सामग्री स्थानीय रामबलि महतोसँग सम्बन्धित रहेको खुलेपछि उनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको हो । घर खानतलासीका क्रममा रगतजस्तो दाग लागेको कपडा समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा मृतकले परियोजनाको जंगलमा हुँदै आएको अवैध काठ चोरी रोक्दै आएका कारण दुवैबीच विवाद हुँदै आएको देखिएको छ । सोही विवादकै कारण घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
घटनासम्बन्धी ज्यान मुद्दामा सर्लाही जिल्ला अदालत बाट म्याद थप अनुमति लिई हाल आरोपितमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



