सर्लाही । सर्लाहीको चुरे क्षेत्रभित्र अवैध रूपमा लगाइएको गाँजा खेती प्रहरीले फडानी तथा नष्ट गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय सर्लाही र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको ४० जनाको संयुक्त प्रहरी टोलीले उक्त कारबाही गरेको हो ।
लालबन्दी नगरपालिका १४ र १५ अन्तर्गत पर्ने सिर कालिन्जोर, सिरु डाँडा, ब्लोन टोल लगायत आसपासका चुरे क्षेत्रका विभिन्न स्थानमा करिब १३ बिघा क्षेत्रफलमा फैलिएको अवैध गाँजा खेती फडानी गरिएको प्रहरीले जनाएको छ । कारबाहीका क्रममा करिब २ लाख संख्यामा रहेका गाँजाका बोट नष्ट गरिएको हो ।
लागूऔषध नियन्त्रण अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानमा निगरानी बढाइएको र अवैध खेती, ओसारपसार तथा कारोबारविरुद्ध यस्ता कारबाहीलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।



