एमाले र जनमत परित्याग गरी दुई नेता जसपा नेपालमा प्रवेश

सर्लाही । विभिन्न राजनीतिक दल परित्याग गरी दुई जना नेता जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) मा प्रवेश गरेका छन् ।

नेकपा एमाले परित्याग गरी हरिवन नगरपालिका–१ भोकटेनी निवासी बिनोद यादव जसपा नेपालमा प्रवेश गरेका हुन् । उनलाई जसपा नेपालका सर्लाही जिल्ला अध्यक्ष रणधिर यादव ले औपचारिक रूपमा पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेश कार्यक्रममा जसपा नेपालका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

यसअघि किसान महासंघका केन्द्रीय महासचिवसमेत रहिसकेका अनुभवी नेता यादवले पार्टी प्रवेशपछि बोल्दै एमालेले मधेश विरोधी गतिविधि गर्दै आएको आरोप लगाए । मधेशको हकहित, अधिकार तथा किसानका मुद्दालाई प्रभावकारी रूपमा उठाउँदै आएको मधेश केन्द्रित दल जसपा नेपालमै पुनः आबद्ध भएको उनले बताए ।

यसैगरी, जनमत पार्टी का राष्ट्रिय परिषद् सदस्य राम विश्वास राय ले पनि जनमत पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका छन् । रायलाई समेत जिल्ला अध्यक्ष रणधिर यादवले औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन् ।

राम विश्वास रायले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन क्षेत्र नं. १ बाट जनमत पार्टीको तर्फबाट उम्मेदवारी दिँदै करिब ४ हजार २ सय मत प्राप्त गरेका थिए । मधेश केन्द्रित मुद्दा, समावेशिता तथा सामाजिक न्यायको एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाउन जसपा नेपाल उपयुक्त राजनीतिक मञ्च भएको निष्कर्षसहित आफूले पार्टी परिवर्तन गरेको रायले बताए ।

जसपा नेपालले यी दुवै नेताको पार्टी प्रवेशसँगै पार्टी संगठन थप सुदृढ हुने तथा किसान र मधेशी मुद्दामा पार्टी अझ बलियो बन्ने विश्वास व्यक्त गरेको छ ।

यसैबीच, बिनोद यादव पार्टी प्रवेशसँगै आगामी फागुन २१ गते का लागि सर्लाही निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा जिल्ला कार्यसमितिबाट सिफारिस गरिएको जनाइएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय