सर्लाही । जिल्लाको सिमावर्ती क्षेत्र संगरामपुर नाका हुँदै भारतबाट नेपाल प्रवेश गर्दै गरेका एक महिला र एक पुरुषलाई प्रहरीले शंकास्पद अवस्थाका कारण नियन्त्रणमा लिएको छ।
प्रहरी स्रोतका अनुसार नियमित चेकजाँचका क्रममा ती व्यक्तिहरूमाथि शंका लागेपछि रोकी खानतलासी गरिएको थियो। खानतलासी गर्दा उनीहरूको झोलाभित्र गाईको मासु जस्तो देखिने करिब एक झोला मासु फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकाहरूलाई संगरामपुर प्रहरी चौकीमा ल्याई प्रारम्भिक सोधपुछ गरिएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईले बरामद गरिएको मासु गाईकै हो वा होइन भन्ने विषय परीक्षणपछि मात्रै यकिन हुने जानकारी दिएका छन्। पक्राउ परेका व्यक्तिहरूको स्थायी ठेगाना, घटनामा संलग्नता तथा अन्य पाटोबारे अनुसन्धान जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।



