धार्मिक कट्टरताको नाङ्गो रूप : बंगलादेश घटनामा पूर्वमन्त्री यादवको कडा प्रतिक्रिया

काठमाडौँ । बंगलादेशमा एक हिन्दू युवकको भीडद्वारा हत्या र शव जलाइएको घटनाप्रति पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव ले कडा आपत्ति जनाउनुभएको छ। उहाँले आफ्नो आधिकारिक फेसबुक स्टाटसमार्फत उक्त घटनालाई “मानवता विरुद्धको जघन्य अपराध” भन्दै तीव्र शब्दमा निन्दा गर्नुभएको हो।

यादवका अनुसार धर्मको नाममा कानुन हातमा लिएर निर्मम हत्या गर्नु आधुनिक सभ्य समाजका लागि कलंक हो। सामान्य आरोपकै भरमा भीडले ज्यान लिने प्रवृत्तिले बंगलादेशको सुरक्षा र न्याय प्रणालीमाथि गम्भीर प्रश्न उठाएको उहाँको भनाइ छ। यस घटनालाई उहाँले बंगलादेश मा बढ्दो धार्मिक कट्टरता र असहिष्णुताको प्रतिफलका रूपमा व्याख्या गर्नुभएको छ।

उहाँले यो घटना कुनै एक देशको सीमाभित्र सीमित विषय नभई सम्पूर्ण दक्षिण एसियाको धार्मिक सद्भाव र क्षेत्रीय सुरक्षासँग जोडिएको गम्भीर चुनौती भएको उल्लेख गर्नुभएको छ। यस्ता घटनाले छिमेकी मुलुकहरूमा समेत नकारात्मक असर पार्न सक्ने भन्दै उहाँले सतर्कता अपनाउन आग्रह गर्नुभएको छ।

पूर्वमन्त्री यादवले यस विषयमा नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदाय मौन बस्न नहुने स्पष्ट धारणा राख्नुभएको छ। बंगलादेशमा रहेका अल्पसंख्यक समुदायको सुरक्षाका लागि संयुक्त राष्ट्र संघ लगायत मानवअधिकारसम्बन्धी संस्थाहरूले ठोस कदम चाल्नुपर्ने उहाँको माग छ।

घटनालाई “सभ्य समाजका लागि असह्य र बर्बरतापूर्ण कृत्य” को संज्ञा दिँदै यादवले पीडित परिवारलाई न्याय दिलाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन बंगलादेश सरकारमाथि अन्तर्राष्ट्रिय दबाब आवश्यक रहेकोमा जोड दिनुभएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय