बरहथवामा ३१ केजी गाँजासहित दुई जना पक्राउ

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१२ स्थित हरिवनबाट बेल्हीतर्फ जाने बागमती सिँचाइ नहरको बाटोबाट प्रहरीले ३१ केजीभन्दा बढी प्रतिबन्धित लागू औषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले २७ गते बिहान करिब ६ बजे प्रदेश–१–०२–०५२ प ३५०६ नम्बरको २२० सीसी क्षमताको पल्सर मोटरसाइकल रोकी चेकजाँच गरेको थियो । मोटरसाइकलमा सवार दुई जनाले बीचमा राखेको प्लास्टिकको बोरामा शंकास्पद वस्तु देखिएपछि गरिएको जाँचका क्रममा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद गाँजा रातो प्लास्टिकले बेरिएका ६ पोकामा राखिएको थियो। प्लास्टिकसहित कुल तौल ३१ केजी ५९० ग्राम रहेको प्रहरीले जानकारी दिएको छ । घटनास्थलबाट प्रयोग गरिएको पल्सर मोटरसाइकलसहित दुई थान किप्याड मोबाइल, एक थान स्क्रिन टच मोबाइल, नेपाली रुपैयाँ ७१ हजार ५७५, भारतीय रुपैयाँ ९ हजार ७ सय, लक्ष्मी सनराइज बैंकको एक थान एटीएम कार्ड र एक थान ब्राउन रंगको छालाको खाली ब्याग पनि बरामद गरिएको छ ।

पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१४ ठुलो घुम्ने टोलका जित बहादुर स्याङतानका २९ वर्षीय छोरा कान्छा राम स्याङतान र सोही नगरपालिका–१४ सानो घुम्ने टोलका टेक बहादुर ठोकरका २५ वर्षीय छोरा मान बहादुर ठोकर रहेका छन् ।

उनीहरूलाई लागू औषध मुद्दामा अनुसन्धानका लागि सम्मानित सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय बरहथवाले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय