सहायक सीडीओ पोखरेलको व्यवहार विवादमा, सेवाग्राहीलाई ‘धम्की–दादागिरी’ गरेको आरोप

सर्लाही । सर्लाहीको मलंगवास्थित जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शिवहरी पोखरेलमाथि सेवाग्राहीमाथि दादागिरी गर्ने, धम्क्याउने र काममा अनावश्यक झन्झट सिर्जना गर्ने गम्भीर आरोप सार्वजनिक भएको छ। जनमत पार्टी सर्लाहीका जिल्ला इन्चार्ज श्रीचन यादवका अनुसार पोखरेलको व्यवहारले कार्यालयमा सेवा लिन आउने सर्वसाधारण निराश र त्रसित बनेका छन्।

यादवका भनाइमा पोखरेल प्रायः आफ्नै कार्यकक्षभन्दा प्रमुख जिल्ला अधिकारीको कक्षमै बस्ने, सेवाग्राही ओभरटेक गर्ने, फाइल रोकिराख्ने जस्ता गतिविधि दोहोर्‍याइन्छ। “आफूलाई अत्यन्त सक्षम देखाउने प्रयासमा उहाँले सीडीओ साहेबकै अगाडि झारा टार्ने शैलीमा काम गर्छन्,” यादवले आरोप लगाए।

जिल्ला प्रशासनमा नागरिकता बनाउन जाने सेवाग्राही दिनभर लामो लाइनमा उभिन बाध्य भइरहेका छन्। नागरिकता फाराममा तोक आदेश लगाउनेलगायतको प्रक्रिया एकजना मात्र अधिकारीले हेर्दा कामको गति झनै सुस्त भएको सेवाग्राहीहरूको गुनासो छ। नयाँ सीडीओ आएका कारण धेरै जानकारी नहुँदा, पोखरेलले सूचनामै हेरफेर गरेर गुमराह गराउने गरेको आशंका पनि सार्वजनिक भएको छ।

यसैबीच, जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य सुनैना देवी चौधरी कल्वारले आफू एक सातादेखि अल्पसंख्यक प्रमाणित गराउन कार्यालय धाइरहे पनि सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले “यो काम निर्वाचन कार्यालयको हो” भन्दै पन्छिने, कहिले “म गर्दिन, जे गर्छौ गर” भनेर धम्क्याउने गरेको बताइन्। उनका अनुसार निरन्तर धाइरहे पनि अहिलेसम्म काम सम्पन्न भएको छैन।

सेवामा सहजता ल्याउनुपर्ने कार्यालयमै यस्तो व्यवहार देखिनुले सर्वसाधारण थप समस्यामा परेको गुनासो तीव्र बन्दै गएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय