धनुषामा भोजको विवादले वडाध्यक्षको गोली हानी हत्या

जनकपुर । धनुषाको मिथिला विहारी नगरपालिका–९ मा शुक्रबार साँझ भएको नौकेश (९ दिने संस्कार)को भोजमै वडाध्यक्ष बिन्देश्वर यादवको गोली हानी हत्या भएको छ ।

वडाध्यक्ष यादव गाउँकै प्रकाश यादवको घरमा आयोजित भोजमा दाइ र भाइसँगै सहभागी भएका थिए । भोज सुरु भइरहेका बेला स्थानीय धर्मनाथ यादव गालीगलौज गर्दै आएपछि वातावरण तनावग्रस्त बन्यो । वडाध्यक्षका भाइ अशेश्वर यादवले “किन गाली गर्नुहुन्छ?” भनेर सोध्दै गर्दा विवाद झन् चर्किएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

विवाद बढ्दै जाँदा धर्मनाथका नातेदारको ४–५ जनाको समूह लाठी, खुकुरी र पेस्तोलसहित घटनास्थलमा पुगेको थियो । झडपको बीचमा स्थिति मिलाउन वडाध्यक्ष अघि बढेका बेला सम्भु यादवले गोली हानी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सम्भु धर्मनाथको नातामा भाइ पर्ने बताइएको छ ।

घटनामा वडाध्यक्षका दाइ रामनाथ यादवसहित ७ जना घाइते भएका छन् । घाइतेहरूलाई जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार गरिएको छ ।

स्थानीय र प्रहरीका अनुसार वडाध्यक्ष बिन्देश्वर यादव र धर्मनाथ यादवबीच विकास निर्माणका कुरालाई लिएर पुरानो विवाद रहँदै आएको थियो । यही रिसइबीकै कारण पूर्वयोजनाबद्ध रूपमा भोजमै हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

घटनापछि प्रहरीले धर्मनाथ यादव र सम्भु यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

वडाध्यक्ष बिन्देश्वर यादव २०७९ मा स्वतंत्र उम्मेदवारका रूपमा विजयी भएका थिए र पछि एमालेमा प्रवेश गरेका थिए । उनी २०७४ मा पनि फोरम नेपालबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय