सप्तरी । सप्तरीमा प्रहरीको विवादित कार्यशैली फेरि एकपटक प्रश्नचिह्नमा परेपछि स्थानीयवासी आक्रोशित बनेका छन्। राजविराज नगरपालिका–६का २१ वर्षीय लालु कुमार चौधरी र २२ वर्षीय विशाल चौधरीलाई प्रहरी जवानमाथि हातपात गरेको भन्दै प्रहरीले पक्राउ गरेपछि तनाव चर्किएको हो।
तर, स्थानीय समुदायले भने घटनाको वास्तविकता उल्टो पेश गरिँदै अप्राधिकृत रूपमा परिवारलाई सताचार लागिरहेको आरोप लगाएका छन्। हिन्दु सम्राट सेना नेपाल, सप्तरीका पदाधिकारीहरूका अनुसार, तीन दिनदेखि प्रहरी जवान दिपक साह सोनारले विशाल चौधरीकी पत्नीलाई जिस्क्याउँदै मोबाइल नम्बर माग्ने जस्ता कुकृत्य गर्दै आएका थिए। सोही दुव्र्यवहार विरुद्ध परिवारले प्रतिवाद गर्दा उल्टै प्रहरीद्वारा निर्दोषहरूलाई लक्षित गरी धरपकड गरिएको आरोप छ।
परिवारका सदस्य गणेश चौधरी र कान्छो छोरा सानु चौधरीलाई समेत घटनासँग कुनै सम्बन्ध नरहुँदा–नरहुँदै पक्राउ गरिएको दाबी समिति र स्थानीयवासीको छ।
घटनामा सम्लग्न भनिएका प्रहरी जवान सोनारलाई उपचार भइरहेको भए पनि स्थानीयहरूको प्रश्न छ —
“श्रीमान–श्रीमतीकै मर्यादामाथि हात राख्ने प्रहरीलाई कारबाही होइन, उल्टो आवाज उठाउनेलाई किन थुना?”
प्रहरी पक्षले भने उनीहरूलाई अभद्र व्यवहार कसुरअन्तर्गत पक्राउ गरिएको र जिल्ला प्रशासनले म्याद थप्दै अनुसन्धान अघि बढाइरहेको बताएको छ।
तर, प्रमाणविनै परिवारलाई थुनिदिइएको आरोपसँगै प्रहरीको विश्वसनीयता फेरि धरापमा परेको छ। स्थानीयहरूले दोषीलाई कारबाही, निर्दोषलाई तुरुन्त रिहा गर्न माग गर्दै न्याय सुनिश्चित नभए आन्दोलनसम्म जान चेतावनी दिएका छन्।



