झापा । झापा जिल्लाको शिवसताक्षी नगरपालिका–१० का १८ वर्षीय सरोज शर्माको योजनाबद्ध हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मृतकका छिमेकी २३ वर्षीय राहुल साह र उनका मामा २७ वर्षीय सुनिल साह पक्राउ परेका हुन्। पक्राउ परेका दुवैजना मृतकसँग चिनजानमा थिए।
दसैँका लागि काठमाडौंबाट घर आएका शर्माले सस्तो सुन खोजिरहेको जानकारी पाएपछि सुन देखाउने बहानामा उनलाई फसाइएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। कात्तिक ९ गते साथी भेट्न निस्केका शर्माको शव एक हप्तापछि बिरिङ खोलाको पुलमुनी गाडिएको अवस्थामा फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार सस्तो दरमा सुन पाइने भन्दै अभियुक्तहरूले शर्मा लाई अर्जुनधारा नगरपालिका–४ स्थित दहीझोडा सामुदायिक वनमा लगे र त्यहीँ हतौडाले प्रहार गरी हत्या गरे। उनीहरुले शव गाडीमै राखेर पुलमुनी गाडेपछि प्रमाण नष्ट गर्न अर्को जंगलमा गाडी जलाएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।
शर्मासँग रहेको रकम लुट्ने र अपहरण गरी फिरौती असुल्ने योजना बनिएकै क्रममा हत्या भएको बुझिएको छ। गाडी जलाउने क्रममा अभियुक्त सुनिलको हातसमेत जलेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न सुनिललाई भारत भाग्ने क्रममा मोरङको रानी नाकाबाट पक्राउ गरिएको र राहुललाई घरमै लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिइएको डिएसपी खड्काले बताए। साथै घटनामा संलग्न एक भारतीय नागरिक फरार रहेको र उनी पक्राउ परेकाहरूको आफन्त भएको खुलेको प्रहरीको दाबी छ।
मुख्य योजनाकार सुनिल यसअघि मोटरसाइकल चोरी र लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परिसकेको पृष्ठभूमि रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान थालिएको छ।



