महोत्तरी । महोत्तरी प्रहरीले जुवातास नियन्त्रणकै लक्ष्यसहित बर्दिबासका विभिन्न ठाउँमा चलाएको विशेष अभियानअन्तर्गत १९ जना व्यक्तिलाई पक्राउ गरेको छ। दुई अलग–अलग स्थानमा मध्यरातमा गरिएको छापामा तीन लाख ६८ हजार रुपैयाँभन्दा बढी नगदसहित जुवा खेल्ने सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, गत राति करिब १२:३० बजे बर्दिबास–५ टुटेश्वर मन्दिर नजिकको एक घरमा छापा मारिदा १२ जना रंगेहात समातिए। उनीहरूबाट एक लाख ३२ हजार रुपैयाँ, २६ थान कौडा, तीन थान काठका बाकस तथा ११ थान मोबाइल फोन बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी तथा प्रवक्ता शैलेन्द्र भट्टले जानकारी दिए।
त्यसअघि प्रहरीले बर्दिबास–७ किसाननगरस्थित कर्णबहादुर तामाङको सटरमा गोप्य सूचनाका आधारमा छापा मारेको थियो। डीएसपी विकास बमको टोलीले सञ्चालन गरेको उक्त कारवाहीमा सात जना पक्राउ परेका थिए। सो स्थानबाट दुई लाख ३६ हजार ५७५ रुपैयाँ नगद, ५२ थान सिलबन्दी तासको बाँडल र अर्को ५२ थान खुला तास बरामद भएको जनाएको छ।
प्राथमिक सोधपुछपछि सबै अभियुक्तलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याइएको प्रहरीले जनाएको छ। जुवातास नियन्त्रण तथा सामाजिक सुरक्षालाई बलियो बनाउने उद्देश्यले कडाइका साथ कारवाही अघि बढाइएको समेत प्रहरीको भनाइ छ।



