उद्योग थला पार्ने निर्णय फिर्ता गरिनुहोस्, युवाको रोजगारी जोगाउन सोनारको कार्कीलाई आग्रह

सर्लाही । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनारले उद्योग–व्यवसायमा कटौती गरिएको विद्युत् आपूर्तिले हजारौँ युवा रोजगारी गुमाउने जोखिम बढेको भन्दै तत्काल समाधानको माग गरेका छन्।

आइतबार बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेटघाट गर्दै मुख्यमन्त्री सोनारले डेडिकेटेड लाइन रोकेर उद्योग थला पार्ने काम जेष्ठपुत्र नीति नबनोस् भन्दै कडा आपत्ति जनाए।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सोनारले उद्योगहरूको लाइन काटिँदा उत्पादन ठप्प हुने मात्र होइन, हजारौँ युवाको जीविकासंगै प्रदेशको आर्थिक गतिविधिमा समेत गम्भीर असर पर्ने बताए।

उनले भने, “डेडिकेटेड लाइन हटाइएपछि उद्योगहरू बन्द हुने स्थिति आएको छ। त्यो बन्दाबन्दीले हजारौँ युवाको भविष्य अन्योलमा पर्छ। सरकारको पहिलो जिम्मेवारी रोजगारी जोगाउनु हो। त्यसैले अविलम्ब लाइन जडान हुनुपर्छ भन्ने हाम्रो माग छ।”

यस्तै, संघीय सरकारबाट प्रदेशलाई दिनुपर्ने अनुदान कटौती नभएको जानकारी अर्थमन्त्रीले दिएको समेत मुख्यमन्त्री सोनारको भनाइ छ।

सोनारले उद्योगमैत्री नीतिबाट मात्र समृद्ध प्रदेशको आधार तयार हुने उल्लेख गर्दै संघ–प्रदेश समन्वय गरेर समस्याको समाधान गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय