महोत्तरी । तिहारको टीकाको दिन पनि महोत्तरीको सीमावर्ती क्षेत्र गौराभेदपुर नाकाबाट तस्करी रोकिएन। भारतबाट कपडा, हार्डवेयर, चप्पलदेखि किराना सामानसम्मको ठूलो मात्रा बिना जाँच नेपाल भित्र्याईएको स्थानीय स्रोत बताउँछन्।
स्थानियका अनुसार ती सामानहरू तस्करी गरेर शंकर मन्दिर पश्चिमतर्फ रामपुकार मण्डल र राउतको घरमा थुपारिएका थिए। घटना थाहा पाएपछि केही जेन–जी युवाले जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी दुवैका प्रमुख एसपीहरूलाई फोनमार्फत खबर गरेका थिए। त्यति मात्र होइन, उनीहरूले रघुनाथपुरस्थित सशस्त्र प्रहरी बलको गुल्मका डिएसपी बिरेन्द्र खनाललाई समेत जानकारी गराएका थिए।
तर, आश्चर्यजनक रूपमा कुनै पनि निकायले तत्काल कारवाही गर्न पहल गरेन। उल्टै डिएसपी खनाल स्वयं सामान रहेको ठाउँसम्म पुगे पनि बरामद नगरी फर्किएको स्थानीयको आरोप छ। त्यसपछि ती तस्करीका सामान करिब २० वटा मोटरसाइकलमा गौंशला तर्फ सारिएको बताइन्छ।
स्थानीयहरूका अनुसार सशस्त्र प्रहरी बल मधेस बाहिनी अन्तर्गत एसपीको कमान्डमा परिचालित “घुमुवा टोली” नै तस्करहरूसँग मिलिभगतमा संलग्न छन्। कारवाहीका कारण पहिला बाहिनीबाट तानिएका केही व्यक्ति अहिले पुनः घुमुवाको रूपमा सीमामा सक्रिय भएको खुलासा भएको छ।
तिहारको समयमा समेत यसरी खुलेआम तस्करी हुँदा सुरक्षा निकायमाथि प्रश्न उठेका छन् — सीमा सुरक्षाको जिम्मा लिएका प्रहरी नै किन मौन छन् ?



