सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिका –४ मा अज्ञात गर्भवती महिला अचेत अवस्थामा फेला परेकी छिन् । उनी हाल प्रादेशिक अस्पताल मलङ्गवाको स्त्रीरोग कक्ष गाइनो वार्ड मा उपचाररत रहेको अस्पताल स्रोतले जनाएको छ ।
घरधनी राजकुमार चौधरीका अनुसार ती महिला करिब १५ दिनअघि उनको घरमा भाडामा बसेकी थिइन् । “महिला गर्भवती थिइन् र चम्की रोगबाट पीडित पनि देखिन्थिन् । स्वास्थ्य अवस्था बिग्रिएपछि हामीले उनलाई अस्पताल पुर्यायौं,” चौधरीले बताए ।
अस्पतालका वरिष्ठ चिकित्सक डा. अविनाश सिंहका अनुसार बिरामीको कुनै ठेगाना र अभिभावक नखुलेका कारण उपचार अघि बढाउन जोखिम महसुस भइरहेको छ । “नैतिक रूपमा यस्तो अवस्थामा बिरामीलाई छाड्न सकिँदैन, तर कानुनी र औपचारिक पक्षका कारण कठिनाइ भइरहेको छ,” डा. सिंहले प्रदेशडायरीसँग भने ।
प्रादेशिक अस्पताल मलङ्गवाले उक्त महिलाको पहिचान खुलाउन आग्रह गरेको छ । उनलाई चिन्नुहुने या उनका आफन्तहरूलाई अस्पतालमा तत्काल सम्पर्क गर्न अनुरोध गरिएको छ ।



