महोत्तरी । सीमावर्ती क्षेत्रमा प्रहरीकै संरक्षणमा अवैध तस्करी र असुलीको धन्दा मौलाएको आरोप स्थानीय व्यापारी र प्रत्यक्षदर्शीहरूले लगाएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत सहायक हवल्दार धर्मेन्द्र प्रसाद यादव विगत करिब छ वर्षदेखि घुमुवा प्रहरीको रूपमा रहँदै तस्करीलाई संरक्षण गर्ने र असुली गराउने मुख्य पात्रका रूपमा चिनिएका छन् ।
स्थानीय स्रोतका अनुसार, सम्सी, इटहरवाकटी, पोखरभिन्डा, मटियानी, भिठामोड लगायतका नाकाबाट नेपालबाट भारततर्फ रक्सी, चाइनीज सामग्री, स्क्र्याप, नकली ‘फेयर एण्ड लभ्ली’ तस्करी हुने गरेको छ भने भारतबाट नेपालतर्फ रजनीगन्धा, कपडा, किराना, दूध पाउडर, माछा र कुखुराका चल्ला नेपाल भित्रिने गरेको छ । प्राप्त भिडियोमा दिउँसोको समयमा नै मोटरसाइकल र ट्रलीमार्फत सामान ओसारपसार भइरहेको देखिन्छ ।
घुमुवा प्रहरीको संरक्षणमा तस्करहरूले फरक–फरक लाइन पाएका छन् । गौशला घरका कालिया उर्फ भभिखन महतोले कपडा, किराना र चिनीको लाइन पाएका छन् भने अर्का तस्कर अन्सारीले कपडा र किरानाको लाइन पाएका छन् । सम्सी नाकामा उजाला नामका व्यक्तिले चप्पल र हार्डवेयरको लाइन पाएका छन् । त्यस्तै, घुमुवा सहायक हवल्दार मस्तकीमको मिलेमतोमा बिरेन्द्र शाह (खैरा), बिजय शाह, सजींव शाह, सोनु, बिनिता, राकेश शाह, रुपेश, मनोज कवाडी, दिदिबहिनी, बेचन शाह, रबि मिश्र, सरोज, चन्दन, साजन, प्रिन्स, पंकज, प्रमिला, सुधिर, बिपिन, अनिल, अन्तोष, सन्तोष, धमौली वाली, श्याम बाबु, दिलिप, लालु, सोनु मटिहानी, नजाम, साविर, धनेश्वर, राजकिशोर, रघु शाह, राकेश शाह, सुशील दास, मन्जु, मुलि, शंकर, काधिर, क्रीपाल मिश्र, ललन मण्डल लगायत दर्जनौँले छुट्टाछुट्टै लाइन पाई अवैध कारोबार सञ्चालन गरिरहेका छन् ।
स्रोतले बताए अनुसार सामान्य ट्रिपमा उठाइने असुली बाहेक कालिया लगायत ठूला तस्करहरूको लागि मासिक हिसाबले दुई लाख पचास हजारदेखि माथि दर तोकिएको छ र यसअनुसार उनीहरूले अवैध कारोबार चलाइरहेका छन् । मोटरसाइकल वा रिक्सा–ट्रलीमार्फत सामान ओसार्दा प्रतिट्रिप पाँच सयदेखि एक हजार पाँच सय रुपैयाँसम्म उठाइने, ठूलो गाडीमा सामान पठाउँदा प्रतिट्रिप पाँच हजारदेखि पन्ध्र हजार रुपैयाँसम्म असुली हुने गरेको र केवल ती नाकाबाट मासिक पन्ध्रदेखि बीस लाख रुपैयाँसम्म रकम उठ्ने अनुमान गरिएको छ ।
स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले पटक–पटक दर्बन्दी भएको स्थानमा पठाउन पत्राचार गरेको भए पनि जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी हेरम्ब शर्माले उल्टै संरक्षण दिएर नामको अस्थायी प्रहरी पोष्ट जमुनियामा राखेका छन् । त्यहाँ काम भने घुमुवाको रूपमा खटाइरहेका छन् । व्यापारीहरूको भनाइमा, यसै कारण घुमुवा प्रहरी नेटवर्क अझ बलियो बनेको छ र असुली तथा अवैध तस्करी निरन्तर भइरहेकै छ ।
व्यापारीहरूले भने, “उनीहरू आफूलाई हाकिमकै मान्छे भन्दै धम्की दिन्छन् र असुली गर्छन् । उजुरी दिएका छौँ तर सुनुवाइ भएको छैन।” प्रहरी प्रधान कार्यालयसम्म उजुरी पुगे पनि अहिलेसम्म कुनै कारबाही नभएको स्थानीयहरूको आरोप छ ।



