सर्लाही दुर्घटना : मोटरसाइकलमा सवार दुई युवाको मृत्यु, अर्को गम्भीर घाइते

सर्लाही । सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–५ हुलाकी सडकखण्डमा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार राति करिब ८ बजेतिर पर्साबाट भेल्हीतर्फ जाँदै गरेको एम एच ०४ डिजे १२९७ नम्बरको स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको प्र ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार तीनै जना घाइते भएका थिए।

घाइतेमध्ये ब्रहम्पुरी–२ का २३ वर्षीय अंकित चौधरीलाई गम्भीर चोट लागेकाले जनकपुरस्थित न्युरो अस्पतालमा रिफर गरिएको थियो। तर राति १२ बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

त्यस्तै मोटरसाइकलमा सवार २५ वर्षीय रोहित सहनीको पनि टाउको र घाँटीमा गम्भीर चोट लागेकाले उपचारकै क्रममा राति करिब १० बजे मृत्यु भएको हो। उनको शव अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा रहेका अर्का २३ वर्षीय शिवशंकर पण्डित घाइते भएका छन्। उनको बाँया हात र दुबै खुट्टामा चोट लागेकाले थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पतालमा पठाइएको छ। हाल उनको उपचार भइरहेको छ।

दुर्घटनापछि स्कारपियो चालक फरार भएका छन् भने ठक्कर दिने सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय