जेन–जी आन्दोलनले मधेशमा ११ करोडको क्षति, १०९ प्रहरी युनिट ध्वस्त

सर्लाही । जेन–जी आन्दोलनका क्रममा मधेश प्रदेशभरका प्रहरी चौकी, सरकारी संरचना र सवारीसाधनमा भएको आगजनी तथा तोडफोडले करोडौँको क्षति पुर्‍याएको खुलेको छ।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार आठवटै जिल्लामा भएको तोडफोड र आगलागीबाट करिब ११ करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको छ। यसमध्ये करिब आठ करोडको क्षति भौतिक पूर्वाधारमा र तीन करोड बराबरको क्षति सवारीसाधनमा भएको छ।

२४ भदौमा मात्र १०९ प्रहरी युनिट क्षतिग्रस्त भएका छन्। तीमध्ये १३ स्थायी संरचना पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने बाँकी अस्थायी चौकी र ट्राफिक प्रहरी कार्यालयहरूमा ठूलो क्षति पुगेको प्रहरी कार्यालयले जनाएको छ। प्रदेशभरका ५३५ प्रहरी युनिटमध्ये ३९९ मात्रै आफ्नै जग्गामा र बाँकी भाडाको घरमा सञ्चालन हुँदै आएका थिए।

क्षतिको यकिनका लागि प्रहरी उपरीक्षक ईश्वर थापाको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिको प्रतिवेदनअनुसार ६ वटा प्रहरी गाडी पूर्ण रूपमा जलेका छन्, १० वटा गाडी तोडफोड भएका छन् भने २५ वटा मोटरसाइकल जलाइएका छन्। आन्दोलनका क्रममा ८४ प्रहरी घाइते भएका छन्।

यस्तै, प्रहरी चौकीमाथि भएको आक्रमणका क्रममा तीनवटा एसएलआर हतियार लुटिएको थियो। ती हतियार फेला परेको भए पनि प्रयोग हुने ४५ राउन्ड गोली अझै हराइरहेको प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

‘यो आन्दोलनले प्रहरी मात्र होइन, सुरक्षाको आधारलाई नै कमजोर बनायो,’ डिआइजी चतुर्वेदीले भने, ‘जनताकै सुरक्षाका लागि रहेका प्रहरी चौकी जलाइए, प्रहरीमाथि आक्रमण गरियो, कतिपय ठाउँमा ज्यानसम्म गुमाउनुपर्‍यो। यस्तो घटनाले जनताको सुरक्षामा नै संकट ल्याउँछ।’

हालसम्म क्षतिग्रस्त १०९ मध्ये १०५ प्रहरी चौकी पुनःस्थापित भइसकेका छन् भने चार चौकी अझै सञ्चालनमा आउन बाँकी छन्। पुनःस्थापनाका काममा स्थानीयवासीले समेत सहयोग गरिरहेको प्रहरीले जनाएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय