सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा मालसामान मर्मत सम्भार शीर्षकमा लाखौँ रुपैयाँ अनियमित रूपमा खर्च गरेको महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले खुलासा गरेको छ ।
प्रतिवेदनअनुसार पालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को नियम ९६ को उपनियम २ र ३ लाई बेवास्ता गर्दै सवारीसाधन तथा अन्य मेशिनरीको मर्मतमा १ लाख ६ हजार ६ सय ६० रुपैयाँ खर्च गरेको देखिएको छ । लागत अनुमान स्वीकृति, प्राविधिक प्रमाणीकरण र अभिलेख राख्ने प्रक्रिया नपु¥याई रकम भुक्तानी गरिएको प्रतिवेदनमा उल्लेख छ ।
‘यो अनियमितता केवल प्रक्रियागत त्रुटि मात्र नभई सम्भावित सेटिङ र आर्थिक लाभको आशङ्का पनि उत्पन्न भएको छ,’ प्रतिवेदनमा भनिएको छ । मर्मत गरिएका साधनको नम्बरसमेत नउल्लेखिनु पालिकाको प्रशासनिक कमजोरी र लापरबाहीको उदाहरणका रूपमा औंल्याइएको छ ।
स्थानीय बासिन्दा र विज्ञहरूले यो घटनालाई गम्भीर रूपमा लिएका छन् । ‘करदाताको पैसाको दुरुपयोगले विकास योजनामै असर पार्ने खतरा देखिएको छ,’ उनीहरूको भनाइ छ ।
सवारीसाधन र मेशिनरीको आयु घट्ने, भविष्यमा थप बजेट बोझ बढ्ने र स्वास्थ्य, शिक्षा तथा पूर्वाधार जस्ता प्राथमिक क्षेत्रमा विनियोजित रकम प्रभावित हुने चेतावनी पनि प्रतिवेदनले दिएको छ ।
सरकारको अनुगमन र कारबाहीमा चासो नदेखिएपछि यस्ता अनियमितता वर्षेनी बढ्दै गएको स्थानीयवासीहरूको गुनासो छ। छानबिन गरी दोषीलाई कारबाही नगरेसम्म पालिकाप्रतिको विश्वास पुनःस्थापित हुन कठिन हुने उनीहरूको भनाइ छ ।




