सर्लाही । सर्लाहीको हरिपुर्वामा एक महिनाअघि भएको रामपुकार यादव हत्या प्रकरणमा संलग्न फरार मुख्य अभियुक्त अभिकुमार यादव पक्राउ परेका छन् ।
गएको साउन ३१ गते घरमै आएर अज्ञात व्यक्तिले गोली प्रहार गर्दा हरिपुर्वा नगरपालिका–६ का ५० वर्षीय रामपुकार यादवको मृत्यु भएको थियो । उक्त घटनामा संलग्न सोही वडाका २६ वर्षीय अभिकुमार (सन्तोष) यादव सीमापारी भारत भागेर लुकेर बसेका थिए । नेपाल फर्किने क्रममा सर्लाहीकै पर्सा गाउँपालिका–३, नारायणपुरबाट उनलाई पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ ।
सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईका अनुसार अभिकुमारविरुद्ध कर्तव्य ज्यान मुद्दामा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।
यसअघि गोली प्रहार गर्ने मुख्य सुटर हरिपुर्वा नगरपालिका–५ का २६ वर्षीय धीरेन्द्र रायलाई घटना भएकै दिन नियन्त्रणमा लिइएको थियो । मोटरसाइकलमा भाग्ने क्रममा लडेर बसन्तपुरमै पक्राउ परेका उनले प्रहरीलाई घटना स्वीकार गरेका थिए ।
अनुसन्धानका क्रममा रामपुकारको आफ्नै छोरासँगको विवादका कारण योजनाबद्ध ढंगले हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ ।



