चिनी गायब प्रकरण : गोदाममै चिनी हराएपछि सशस्त्रका एसपीसहित तीन अधिकारी कारबाहीमा

रौतहट । रौतहटमा तस्करी प्रकरणसँग जोडिएको चिनी गायब बनाएको आरोपमा सशस्त्र प्रहरीका उच्च अधिकारीहरू छानबिनको घेरामा परेका छन्।

सशस्त्र प्रहरी बलको ११ नम्बर गण, रौतहटका एसपी सन्तोष बस्नेत, डिएसपी अमर लामा र डिएसपी राजेन्द्र बस्नेतलाई प्रधान कार्यालयले हाल जिम्मेवारीबाट हटाउँदै छानबिन प्रक्रिया अघि बढाएको हो।

२९ साउनमा चन्द्रपुरस्थित गोदाममा डिएसपी लामा र बस्नेतको नेतृत्वमा भएको छापामा करिब सात सय किलो तस्करीको चिनी बरामद भएको भनिए पनि भन्सारमा जम्मा १०६ बोरा मात्र बुझाइएको पाइएको थियो। सो क्रममा एउटा ठुलो ट्रकको चिनी गायब बनाइएको आशंका गरिएको छ।

प्रारम्भिक अनुसन्धानमै चिनी हराएको तथ्य देखिएपछि एसपीसहित तीन अधिकारी कारबाहीमा तानिएका हुन्। सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बताए।

यसैबीच, डिएसपी लामाले इन्स्पेक्टर हुँदादेखि नै सो क्षेत्रमा निरन्तर पोस्टिङ मिलाउँदै आएका कारण उनीमाथि अझ गम्भीर शंका गरिएको छ। तल्लो तहका प्रहरीमाथि पनि सोधपुछ भइरहेको छ भने तराईका अन्य जिल्लाका सशस्त्र कमान्डरहरूमाथि समेत उजुरी परेर छानबिन सुरु भएको प्रहरी मुख्यालय स्रोतले जनाएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय