काठमाडौं । नेपालको सीमा हुँदै भारतको बिहार प्रवेश गरेको आशंकामा जैश–ए–मोहम्मद समूहका तीन आतंककारीको खोजी जारी छ। भारतीय सुरक्षाकर्मीहरूले हाई अलर्ट जारी गर्दै सबै युनिटमा विशेष सतर्कता अपनाउन आदेश दिएका छन्।
इन्डिया टुडेका अनुसार, ती तीन आतंककारी हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मान हुन् र उनीहरू पाकिस्तानी नागरिक रहेको पुष्टि गरिएको छ। तर उनीहरूले कुन सीमा नाका प्रयोग गरेर कहिले प्रवेश गरे भन्ने विवरण सार्वजनिक गरिएको छैन।
न्यूज–एट्टिनले जनाएको छ, उनीहरूको हुलिया र परिचय सबै प्रहरी युनिटमा पठाइएको छ र तत्काल कुनै संदिग्ध गतिविधि देखिए रिपोर्ट गर्न भनिएको छ।
ईटीभी भारतका अनुसार, बिहारको सितामढी, मधुबनी, पश्चिम चम्पारण, अररिया, किशनगञ्ज र सुपौल जिल्लाका प्रहरीलाई विशेष निगरानीमा राखिएको छ। स्थानीय नागरिकलाई पनि शंका लागेमा नजिकको प्रहरीमा जानकारी गराउन आग्रह गरिएको छ।
सन् २०२४ मा पनि नेपालमार्ग हुँदै भारत प्रवेश गरेको आरोपमा तीन जना आतंककारी पक्राउ परेका थिए। यस घटनापछि सुरक्षा सतर्कता अझ कडा बनाइएको छ।



