काठमाडौं । नेपाल प्रहरीको एक जवानले बर्दीमै खिचेको भिडियो सार्वजनिक गरेपछि सामाजिक सञ्जाल तातेको छ ।
बाँकेमा कार्यरत जवान माधवप्रसाद भुगाईले ३७ सेकेन्ड लामो भिडियोमार्फत प्रहरी सेवामा हुने राजनीति र शक्ति–पक्षपातविरुद्ध प्रश्न उठाएका छन् ।
भिडियोमा उनले भनेका छन्– “यत्तिका दुखः गर्ने, तर पावर हुनेले फ्याट् फ्याट् बढुवा खाने, पावर हुनेले जे भन्यो त्यही सरुवा हुने, पावर नहुनेले के पाउने ?”
उनले प्रहरी जागिरलाई शक्ति भएकाहरूका लागि मात्रै प्रयोग गरिएको भन्दै खुलेर असन्तुष्टि पोखेका छन् । आफूलाई पावर नभएको प्रष्ट्याउँदै उनले भनेका छन्– “जागिर खाने भए खाउ, तर यदि पावर हुनेकै लागि हो भने पावर हुनेलाई नै जागिर खुवाउ ।”
जवानको यो अभिव्यक्ति सार्वजनिक भएलगत्तै फेसबुक, ट्वीटरदेखि टिकटकसम्म भिडियो भाइरल बनेको छ । सामाजिक सञ्जालमा अधिकांश प्रयोगकर्ताले उनलाई “जिउँदो बहादुर सिपाही” भन्दै सलाम गरेका छन् ।
यसैबीच जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी रामप्रसाद घर्तीमगरले भिडियोमा बोल्ने व्यक्ति वास्तवमै प्रहरी जवान नै भएको पुष्टि गरेका छन् । उनका अनुसार जवान भुगाई हालै मात्र सेवामा प्रवेश गरेका भएकाले बढुवा पाउने समय अझै आएको छैन ।
एसपी घर्तीले थपे, “के कसो भएको हो भन्नेबारे आन्तरिक बुझाइ भइरहेको छ ।”
सुरक्षा फौजभित्र बर्दीमै खुलेर बोल्न सामान्यतया कठिन मानिन्छ । तर जवान भुगाईले आफ्नो असन्तुष्टि सार्वजनिक मञ्चमै व्यक्त गरेपछि प्रहरी संगठनभित्रको वास्तविकता फेरि एकपटक बहसको विषय बनेको छ ।



