जनकपुर । मिथिला–मधेश क्षेत्रमा आज चन्द्रमाको आराधना गर्दै चौरचन पर्व मनाइँदैछ। श्रद्धा र आस्थासँग गाँसिएको यो पर्वलाई कतिपय स्थानमा चौठचन्द्र नामले पनि चिनिन्छ।
संस्कृतिविद् ध्रुव रायका अनुसार चौरचन केवल धार्मिक विधिसम्म सीमित नभई सामाजिक र पारिवारिक एकतालाई बलियो बनाउने पर्व पनि हो। “परिवारका सबै सदस्य एउटै ठाउँमा भेला भई सामूहिक रूपमा भोजन गर्ने परम्पराले आपसी सम्बन्धलाई अझ मजबुत बनाउँछ,” रायले बताए।
यस पर्वमा महिलाहरू बिहानैदेखि निराहार उपवास बस्छन्। राति चन्द्रमा उदाएपछि पूजा–आराधना गरी मात्र अन्न र जल ग्रहण गर्ने परम्परा रहिआएको छ। जलेश्वर नगरपालिका–८ की व्रतालु राजवती देवीका भनाइमा, यस अवसरमा विभिन्न फलफूल, मिठाइ, दही, पुरी र खीर खाने चलन छ।
पूजा सम्पन्न भएपछि महिलाहरू चन्द्रमा दर्शन गरी आँगनमै राखिएका फलफूल घरका सदस्यहरूसँग बाँड्छन्। अन्त्यमा सबै परिवार आँगनमै भेला भई खीर, पुरी, दही र मिठाइ सेवन गर्दै पर्व मनाउने प्रथा पुस्तौँदेखि निरन्तर चल्दै आएको छ।



