ओभरलोड ट्रक कारबाहीमा बारा प्रहरी सक्रिय, पथलैया ट्राफिक कार्यशैलीमाथि प्रश्न उठ्यो

बारा । राजमार्गमा ओभरलोड ट्रकलाई संरक्षण दिएको आरोप खेप्दै आएको पथलैया ट्राफिक कार्यालयलाई ‘बाइपास’ गर्दै जिल्ला प्रहरी कार्यालय, बाराले ५२ वटा ओभरलोड ट्रक नियन्त्रणमा लिएको छ ।

मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी उमा चर्तुवेदीको प्रत्यक्ष निर्देशनमा शुक्रबारदेखि बारा प्रहरीले कारबाही थालेको हो । पथलैया ट्राफिक कार्यालयले पटक–पटकको निर्देशन अटेरी गर्दै ओभरलोड नियन्त्रण नगरेपछि जिल्ला प्रहरी आफैं मैदानमा उत्रिएको हो ।

ट्रक व्यवसायी संघका अध्यक्ष ओमबहादुर कार्कीले पथलैया ट्राफिक कार्यालय आर्थिक प्रलोभनमा परी भारतीय ओभरलोड ट्रकलाई संरक्षण गर्दै आएको आरोप लगाउँदै गृहमन्त्रीदेखि प्रहरी महानिरीक्षकसम्म ज्ञापन बुझाएका थिए । त्यसपछि प्रहरी प्रधान कार्यालयले साउन ४ गते नै ओभरलोड नियन्त्रण गर्न परिपत्र जारी गरेको थियो । तर, ट्राफिक प्रमुख एसपी राजकुमार सिलवालले कार्यान्वयन नगरी ओभरलोड ट्रकलाई छुट दिएको व्यवसायीहरूको आरोप छ ।

डीआइजी चर्तुवेदीले भने, ‘पथलैया ट्राफिकले अटेरी गरेपछि बारा प्रहरीलाई सिधै कारबाही गर्न निर्देशन दिइएको हो ।’

बाराका एसपी सन्तोष तामाङका अनुसार नियन्त्रणमा लिइएका ५२ ट्रकमध्ये ३८ वटा भारतीय र १४ वटा नेपाली नम्बर प्लेटका छन् । २० टन क्षमताका भारतीय ट्रकले ४० टनभन्दा बढी मार्बल, अलकत्रा र कच्चा पदार्थ बोकिरहेको पाइएको छ ।

नियन्त्रणमा लिइएका सबै ट्रकलाई आइतबार यातायात व्यवस्था कार्यालय पठाई कानुनी कारबाही अघि बढाइने उनले बताए ।

तर, आफूमाथि लागेको आरोप अस्वीकार गर्दै एसपी सिलवालले आर्थिक प्रलोभनमा कुनै पनि निर्णय नगरेको दाबी गरेका छन् । उनले जिल्ला प्रहरीले थालेको कारबाहीमा सहयोग गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिइसकेको बताएका छन् ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय