रौतहट । रौतहटको गौरमा सुटकेसभित्र अन्दाजी ३० वर्षीया महिलाको शव फेला परेको छ ।
गौर नगरपालिका–९ मुडवलवा गेट नजिकै शनिबार राति डोरीले बाँधिएको अवस्थामा बेवारिसे सुटकेस भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजन कार्की नेतृत्वको टोलीले आइतबार बिहान सुटकेस खोलेपछि महिलाको शव फेला परेको हो ।
डीएसपी कार्कीका अनुसार शवलाई सुटकेसभित्र कोचेर राखिएको अवस्थामा भेटिएको हो । मृतकको पहिचान खुल्न बाँकी छ । शवलाई मुचुल्का उठाएर प्रादेशिक अस्पताल गौरमा पठाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । घटनास्थल नजिकै रहेको विद्यालयको सीसीटीभी फुटेज पनि प्रहरी टोलीले संकलन गरी अनुसन्धान अघि बढाएको छ ।
यसअघि पनि यो साताभित्र मात्रै रौतहटमा तीन शव फेला परिसकेका छन् । नेपाल लजमा सप्तरीका उपेन्द्र भगत मृत अवस्थामा भेटिएका थिए भने गौर–५ मा सहाबुदिन मियाको छुरा प्रहारबाट हत्या गरिएको थियो ।



