सर्लाही । लामो समयदेखि भ्रस्टाचार मुद्दामा दोषी ठहर भइसके पनि पार्टी नेतृत्वको जालझेल र बचाउका कारण पदमै टिकिरहेका नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह अन्ततः पदबाट बाहिरिन बाध्य भएका छन्।
मनुसमरा सिँचाइ आयोजना अन्तर्गत रुख कटान प्रकरणमा सिंहलाई २०७१ पुस २५ गते विशेष अदालतले दोषी ठहर गरेको थियो। तर, उनले सर्वोच्च अदालतमा पुनरावेदन गर्दै करिब एक दशकसम्म मुद्दा अल्झाइरहे। अन्ततः २०८० फागुन १५ गते सर्वोच्च अदालतले समेत विशेष अदालतको फैसला कायम राख्दै सिंहलाई भ्रष्टाचारी ठहर गरिदियो।
सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सजाय कम भएको भन्दै पुनरावेदन दर्ता गरेको थियो। सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले दुवै दाबी खारेज गर्दै विशेष अदालतको फैसला नै कायम राखेपछि सिंह कानुनी रूपमा दोषी प्रमाणित भए।
तर, सर्लाही कांग्रेसको लज्जास्पद पक्ष भने शीर्ष नेतृत्वकै संरक्षणमा सिंह लामो समयसम्म पदमा टिकिरहनु रह्यो। स्थानीय कार्यकर्ताले पटक–पटक आन्दोलन गर्दै उनको निष्कासन माग गरे पनि केन्द्रीय तहको जालझेलले उनलाई जोगाउँदै आएको थियो।
अन्ततः आज राजीनामा पत्र बुझाएका सिंहले आफू अन्यायको शिकार भएको दाबी गरे। तर, कार्यकर्ताले भने उनको अभिव्यक्ति “भ्रष्टाचार ढाकछोप गर्ने अन्तिम प्रयत्न मात्र” भएको टिप्पणी गरेका छन्। उनी कानुनी बाध्यताले मात्र हटाइएका हुन्, नैतिक कारणले होइन भन्ने कार्यकर्ताको ठम्याइ छ।
पार्टी विधानअनुसार अब उपसभापति डा. सरोज कुमार कार्यवाहक सभापति बन्ने भएका छन्। सिंहको पतनपछि सर्लाही कांग्रेसमा नयाँ शक्ति समीकरणको ढोका खुलेको कार्यकर्ताको मूल्यांकन छ। तर उनीहरूको चेतावनी छ – “भ्रष्टाचार ढाकछोप गर्ने संस्कार अन्त्य नगरेसम्म सर्लाही कांग्रेस शुद्धिकरण सम्भव छैन।”



