मलंगवा । सर्लाहीमा प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गरेको छ । हरिपुर्वा नगरपालिका–५ स्थित रुपेश साहको घरमा लुकाइ राखिएको २० किलो ३४० ग्राम गाँजासहित साह दम्पत्ति पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मंगलबार साँझ करिब ४ बजेतिर प्राप्त सूचनाका आधारमा प्रहरीले संयुक्त रुपमा घर तलासी गरेको हो । हरिपुर्वा प्रहरी चौकीका प्रहरी निरीक्षक शेख हफ्जुल्लाह, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्र कार्की र इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक उमाकान्त जोशीको नेतृत्वमा खटिएको टोलीले छानबिन क्रममा घरको छतमा गाँजा भेट्टाएको हो ।
प्रहरीले ४५ वर्षीय रुपेश साह र उनकी पत्नी ३५ वर्षीया प्रतिमा कुमारी साहलाई नियन्त्रणमा लिएको जनाएको छ । बरामद गरिएको गाँजा र पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार लागुऔषध ऐनअनुसार आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइनेछ ।



