काठमाडौं । नेपाली कांग्रेसले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पूर्वमहामन्त्री देवेन्द्र यादवलाई सदस्यता दिएकै भोलिपल्ट फिर्ता लिएको छ। यादवमाथि व्यक्ति हत्या अभियोग रहेको थाहा पाएपछि कांग्रेसले उनको सदस्यता खारेज गरेको हो।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै बिहीबार बिहान ९:४५ बजे सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्मा केन्द्रीय कार्यालयमा छलफल गरिरहेका बेला केही नेताहरू यादवलाई लिएर आएपछि सभापतिले सदस्यता प्रदान गरेको बताए। तर पछि बुझ्दा यादवविरुद्ध फौजदारी कानूनी कारबाही प्रक्रिया चलिरहेको थाहा भएको उनले उल्लेख गरे।
‘निजलाई पार्टी प्रवेश गराउन ल्याउने साथीहरूसँग यसबारे गम्भीर जानकारी लिइँदै छ,’ विज्ञप्तिमा उल्लेख छ। कांग्रेसले यस विषयमा गृह प्रशासनकोसमेत ध्यानाकर्षण गराएको जनाएको छ।
महोत्तरीमा असई थम विक हत्याकाण्डमा देवेन्द्र यादव पनि आरोपी सूचीमा परेका थिए। पछिल्ला वर्षमा उनी सक्रिय राजनीतिमा देखिएका थिएनन्।



