जनकपुर । नेपाल पत्रकार महासंघ, मधेस प्रदेश समिति र नेपाल बार एशोसिएशन जनकपुरबीचको विवादित जग्गा सम्बन्धी मुद्दामा उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गर्दै उक्त जग्गामा कुनै हस्तक्षेप नगरी यथास्थितिमा राख्न आदेश दिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–४ स्थित राममन्दिर गुठ्ठीअन्तर्गतको ४ कठ्ठा (कित्ता नं. ६५) जग्गा गुठ्ठी संस्थान सञ्चालक समितिको निर्णयअनुसार पत्रकार महासंघलाई २० वर्षका लागि लिजमा दिइएको हो । तर, बार एशोसिएशन जनकपुरले उक्त निर्णयको विरोध गर्दै अदालतमा मुद्दा दायर गरेपछि बिहीबार ‘निषेधाज्ञा’ सम्बन्धी बहस भएको हो ।
निवेदक पक्षका तर्फबाट ६१ जना वकिलले बहस गरेका थिए । वरिष्ठ अधिवक्ता किशोरी साह, देवेन्द्र ठाकुर निराला, विश्वरंजन प्रसाद गुप्ता, चन्द्र कुमार शर्मा, श्याम कुमार मिश्र, शिव कुमार सिंह, रामनेक साह, बलराम सुवेदी, मुकेश कुमार कार्की, उमेश पंजियार र प्रकाश कुमार घिमिरेलगायतले बहसमा सहभागिता जनाए ।
उच्च अदालतका न्यायाधीश गीताप्रसाद तिम्सिनाको एकल इजलासले विपक्षी पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिँदै अन्तरिम आदेशको मागबारे दुवै पक्षको उपस्थितिमा छलफल गर्ने निर्णय गरेको छ । साथै, पेशी मिति २०८२ भदौ ५ सम्म उक्त जग्गामा कुनै परिवर्तन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो ।
गुठ्ठी संस्थानले २०८२ जेठ ७ गते गोरखापत्रमा सूचना प्रकाशित गर्दै लिजका लागि प्रस्ताव मागेको थियो । वार्षिक तीन लाख एक हजार रुपैयाँ भाडा प्रस्ताव गरेको महासंघको प्रस्ताव साउन १ गते स्वीकृत भएको हो । तर, साउन २० गते बार एशोसिएशन जनकपुरले उक्त जग्गा पार्किङका लागि प्रयोग गर्ने निर्णय गर्दै सूचना जारी गरेको थियो ।
बारका वकिलहरूले विवादित जग्गामा तारबार लगाउने, किल्ला गाड्ने र पार्किङ सञ्चालन गर्ने प्रयास गरेपछि पत्रकार महासंघले प्रतिरोध गरेको थियो । यस क्रममा दुवै पक्षबीच झडप भएको थियो ।
झडपमा परि पत्रकार महासंघका अध्यक्ष श्याम बञ्जारा, महिला उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो (क्रान्ति), पत्रकार दिवाकर साह, अनिल निराला र विनिता यादव घाइते भएका छन् । यसक्रममा महिला पत्रकारमाथि दुर्व्यवहार र गालीगलौज भएको आरोप पनि लगाइएको छ ।



