जनकपुरधाममा वकिलद्वारा पत्रकारमाथि आक्रमण, आधा दर्जन घाइते

जनकपुरधाम । जनकपुरधाममा वकिलहरूले पत्रकारमाथि आक्रमण गरी कुटपिट गरेका छन्। नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले गुठी संस्थानसँग लिजमा लिएको जग्गा कब्जा गर्दै वकिलहरूले पत्रकारमाथि कुटपिट गरेको हो।

आक्रमणमा परेर महासंघका अध्यक्ष श्याम बन्जारा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, पत्रकार दिवाकर रायसहित करिब आधा दर्जन पत्रकार घाइते भएका छन्। उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

महासचिव क्रान्तिको पैताला भाँचिएको छ भने अध्यक्ष बन्जाराको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ। पत्रकार रायको टाउकोमा चोट लागेको छ।

महासंघले भूतनाथ महादेव दक्षिणतर्फको ४ कठ्ठा जग्गा वार्षिक ३ लाख १ हजार १ सय रुपैयाँमा २० वर्षका लागि गुठी संस्थानसँग सम्झौता गरेर लिएको हो। तर नेपाल बार एसोसिएसन जनकपुरधामले सो जग्गामा बलजफ्ती गाडी पार्किङ गर्नेलगायत गतिविधि थालेपछि विवाद चर्किएको महासंघले जनाएको छ।

अध्यक्ष बन्जाराका अनुसार गुठी संस्थानसँग सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर सम्झौता भएको हो। ‘सम्झौता भएसँगै विभिन्न खेल सुरु भएको छ,’ उनले भने, ‘बारले यो ठाउँमा भवन बनाउन वा प्रवेश गर्न नहुनेजस्तो पूर्वाग्रही व्यवहार गर्‍यो, जुन आपत्तिजनक हो।’

उनले बारसँग मौखिक सहमति भएको र बाटोको समस्या समाधान गर्ने आश्वासनसमेत दिएको बताए। ‘५ भदौमा दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ,’ उनले भने, ‘अदालतबाट न्याय पाउने आशामा छौँ।’

महासचिव क्रान्तिले पनि जेठ ७ गते गोरखापत्रमा सूचना प्रकाशित भई विभिन्न संघसंस्थाको प्रस्तावमध्ये महासंघको प्रस्ताव छानिएको र साउन १९ गते औपचारिक सम्झौता भएको स्पष्ट पारे।

महासंघले विवादित जग्गामा प्रदेशको भवन निर्माण गर्ने तयारी गरेको जनाएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय