पर्सा — पर्सा कारागारमा २५ वर्षको सजाय भोगिरहेका २८ वर्षीय कैदी राहुल साहको मृत्यु भएको छ । कर्तव्य ज्यानको मुद्दामा दोषी ठहरिएका साह मंगलबार बिहान व्यायाम गर्ने क्रममा एक्कासी वान्ता गर्दै बेहोस भएका थिए । उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल पुर्याइए पनि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।
यद्यपि मृतकका आफन्तहरूले अस्पताल प्रशासन, जेल प्रशासन र चिकित्सकमाथि लापरबाही गरेको आरोप लगाएका छन् । प्रारम्भिक उपचारपछि अन्यत्र पठाउन सिफारिस भए पनि जेल प्रशासनले अनुमति नदिँदा मृत्यु भएको भन्दै नारायणी अस्पताल बाहिर टायर बालेर उनीहरूले प्रदर्शन गरेका छन् ।
घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै मृतकका आफन्तले आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।



