सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–२ मा प्रहरीले चलाएको गोली लागी स्थानीय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालु यादवको मृत्यु भएपछि गोली चलाउने प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवको जिम्मेवारी खोसिएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी उमा चतुर्वेदीका अनुसार इन्स्पेक्टर यादवलाई तत्कालका लागि जिम्मेवारीबाट मुक्त गर्दै प्रदेश प्रहरी कार्यालयमा फिर्ता बोलाइएको छ । उनले घटनाको छानबिनका लागि समिति गठनको तयारी भइरहेको बताए ।
मंगलबार राति भारततर्फ मदिरा तस्करी भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले गोली चलाउँदा यादवको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि स्थानीयबासी र मृतकका आफन्त आक्रोशित बनेका थिए । बुधबार दिनभर विरोध प्रदर्शन गर्दै दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका थिए ।
बिहीबार प्रशासन र पीडित पक्षबीच भएको वार्तापछि उच्चस्तरीय छानबिन समिति गठन गर्ने, समितिको प्रतिवेदनअनुसार क्षतिपूर्ति दिने र घटनाको छानबिन नहुँदासम्म इन्स्पेक्टरलाई जिम्मेवारीबाट अलग गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।
सहमति अनुसार आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको छ र मृतकको शव परिवारले बुझेर अन्तिम संस्कार गर्ने भएको छ ।



