सर्लाही । सर्लाहीको बलरा नगरपालिका जब्दी टोलमा अपराधिक समूहले इलाका प्रहरी कार्यालय बलराका प्रहरी नायब निरीक्षक (सई) सहित तीन जनामाथि कुटपिट गरेका छन् ।
रामनगर गाउँपालिका–१ खैर्वाका रोहित कुमार सहनी बलरा बजारस्थित आफ्नो पसल बन्द गरी बुधबार राति करिब ९:१५ बजे घर फर्कंदै गर्दा प्राथमिक विद्यालय अगाडि ५–७ जनाको समूहले उनलाई लुटपाट र कुटपिट गरेका थिए ।
घटनाको जानकारी पाएपछि इप्रका बलराबाट सई गौरीशंकर साहको नेतृत्वमा प्रहरी टोली खटिएको थियो । तर घटनास्थलतर्फ जाँदै गर्दा बाटोमै ती समूह फेला परेपछि सोधपुछ गर्ने क्रममा आक्रोशित समूहले सई साहमाथि आक्रमण गरेको थियो ।
प्रहरी स्रोतका अनुसार आक्रमणमा सई साहको बाँया हातमा गम्भीर चोट लागेको छ भने रोहितकुमार सहनीका सहकर्मी ४० वर्षीय नविन चौधरीको टाउकोमा चोट लागेर दुई वटा टाँका लगाइएको छ ।
उक्त समूह स्थानीय जब्दी टोलकै युवाहरु भएको आशंका प्रहरीले गरेको छ । आक्रमणपछि समूह फरार भएको र घटनास्थलमा सशस्त्र प्रहरी पनि परिचालन गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक बालिष्टर सिंहले दुई पक्षबीचको झगडाको क्रममा सई साह सामान्य घाइते भएको जानकारी दिए । उनका अनुसार अन्य दुई जना पनि सामान्य घाइते छन् ।
घटनामा प्रयोग गरिएको मोटरसाइकलमा समेत तोडफोड गरिएको छ । लुटपाटको विवरण भने अझै खुलेको छैन ।



