सर्लाही । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश अध्यक्ष अशोक यादवले सर्लाही प्रहरीले प्रतिशोध साँधेर झुटा मुद्दा लगाएको गम्भीर आरोप लगाएका छन् । आइतबार सर्लाहीमा पत्रकार सम्मेलन गर्दै यादवले जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) योगेन्द्र कुमार खड्काले आफूलाई अपशब्द प्रयोग गरेर दुर्व्यवहार गरेको र मध्यरातमा घरमा प्रहरी पठाएर परिवारमाथि दमन गरेको दाबी गरे ।
उनले आफूमाथि लगाइएको ‘आपराधिक उपद्रव’ को मुद्दा नियोजित र कपोकल्पित भएको दाबी गर्दै भने, “मैले पूर्वाधार कार्यालयमा भइरहेको अनियमितताको विषय उठाएँ, त्यसपछि एसपी साहेब रिसाएर फोनमा मलाई ‘साले’ भने । त्यो भ्वाइस रेकर्ड मसँग छ, फरेन्सिक जाँच गरौँ । एउटा जनप्रतिनिधिलाई यत्रो अपमान ?”
पत्रकार सम्मेलनमा आक्रोशित मुद्रामा देखिएका यादवले राति १२ बजे घरमा प्रहरी पुगेर छोरालाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपसमेत लगाए । “के राज्यले प्रहरीलाई नागरिकको सुरक्षा गर्न पठाएको हो कि राति घरमै डकैती गर्न?” उनले प्रश्न गरे ।
यादवले आफूलाई मधेसी भएकै कारण निशाना बनाइएको आरोप लगाए । “हामी मधेसी छौं, कमजोर छौं, त्यसैले प्रहरी प्रशासनको मनोबल बढेको छ,” उनले भने, “यदि म पहाडी समुदायको हुन्थेँ भने यस्तो घटना भएपछि कारबाही भइसक्थ्यो ।”
प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि ‘फरार’ भएको भन्ने आरोपको खण्डन गर्दै यादवले आफू छोराको उपचारका लागि बाहिर गएको स्पष्ट पारे । उनले चेतावनी दिँदै भने, “एउटा अशोक यादवलाई दबाएर हजारौं अशोक यादव जन्मन्छन् ।”
उनले आफ्नो संघर्ष व्यक्तिगत नभई मधेसमा व्याप्त भ्रष्टाचार, तस्करी र कमिसनतन्त्र विरुद्ध भएको बताए । “यो मेरो मात्र होइन, समग्र मधेसको समस्या हो,” यादवले भने, “अब लुटतन्त्र र बेथितिको अन्त्यका लागि छुट्टै सङ्घर्षको आवश्यकता छ ।”
मलंगवा स्थित पूर्वाधार विकास कार्यालयमा राति अबेरसम्म काम भइरहेकै बेला त्यहाँ अनियमितता भएको भन्दै जसपा नेता यादव र एसपी खड्काबीच फोनमा चर्को भनाभन भएको थियो । त्यसपछि यादवलाई पक्राउ गर्न प्रहरी टोली उनको घर पुगेको थियो । तर, स्थानीयबासीले प्रहरीको गाडीमा तोडफोड गरेका थिए ।
उक्त घटनापछि प्रहरीले यादवविरुद्ध ‘आपराधिक उपद्रव’ को मुद्दा दर्ता गरी अदालतबाट पक्राउ पुर्जी जारी गराएको हो । यता, जसपा सहित सर्लाहीका ६ राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको न्यायिक छानबिन गर्न माग गरेका छन् । उनीहरूले एसपी खड्कामाथि कारबाहीको समेत माग गरेका छन् ।



