खसीको नाममा बाख्राको मासु बिक्री, विराटनगरमा २५ किलो मासु नष्ट

विराटनगर । खसीको मासुको नाममा उपभोक्तालाई बाख्राको मासु बेच्दै आएको पाइएपछि विराटनगर महानगरपालिकाले तीन वटा मासु पसलमाथि कारबाही गरेको छ ।

उपभोक्ताबाट गुनासो आएपछि बिहीबार महानगरको अनुगमन टोलीले विराटनगर–९ स्थित पुरानो गुद्री क्षेत्रका मासु पसलमा छापा मारेको थियो । अनुगमनको क्रममा तीनवटा पसलबाट २५ किलो बाख्राको मासु बरामद गरी तत्कालै नष्ट गरिएको महानगरको पशुपंक्षी महाशाखाले जनाएको छ ।

महाशाखा प्रमुख हीरालाल यादवका अनुसार, अलिहसन मियाँको पसलबाट १५ किलो, सोहराव कुरेसी र न्यू जावेद मासु पसलबाट ५–५ किलो बाख्राको मासु बरामद गरिएको हो । ती पसलहरूले उपभोक्तालाई खसीको मासु भनेर बाख्राको मासु बिक्री गर्दै आएको पाइएपछि कारबाही गरिएको उनले बताए ।

त्यस्तै, विराटनगर–९ का मल्लिक मिट सेन्टर, न्यू गाउँले फ्रेस हाउस र विराटनगर–११ स्थित करिया मिट सेन्टर तथा कञ्चन फ्रेस हाउसमा मापदण्डमा सामान्य त्रुटि भेटिएकाले ती पसलहरूलाई सुधारको अन्तिम चेतावनी दिइएको महानगरले जनाएको छ ।

महानगरले उपभोक्ताको स्वास्थ्य र अधिकारसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य तथा मासु व्यवसायलाई नियमन गर्न नियमित अनुगमनलाई तीव्रता दिइएको जनाएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय