काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले अहिराजमाथि प्रारम्भिक अनुसन्धानका आधारमा उनलाई थुनामा पठाउन आदेश दिएको हो । आदेशपछि उनलाई डिल्लीबजारस्थित कारागारमा चलान गरिएको छ ।
पूर्वप्रदेश प्रमुख अहिराजलाई साउन ४ गते एक महिलाले बलात्कारको आरोपमा उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको थियो । घटनाको अनुसन्धानपछि ९ दिनभित्रै सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
जाहेरी अनुसार, २०८१ जेठ ४ गते काठमाडौंको नयाँ बानेश्वरस्थित डेरामा आफूमाथि बलात्कार गरिएको पीडित महिलाले दाबी गरेकी छन् ।
तर, अहिराजले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै उल्टै उक्त महिलाविरुद्ध उजुरी दिएका छन् ।
अहिराज राजनीतिक तथा प्रशासनिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित थिए । तर अहिले उनीमाथि लागेको गम्भीर आरोपसँगै उनका गतिविधि कानुनी घेऱामा केन्द्रित भएका छन् ।



